मेचीनगरका दुई अलग–अलग स्थानमा मानव मलमुीय फोहोर प्रशोधन केन्द्र स्थापना भएको छ । संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा काँकडभिट्टा र चारआलीमा केन्द्र स्थापना भएको हो । केन्द्रको बुधवार खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरेकी छन् ।
सहरी क्षेत्रमा मानव मलमुत्र व्यवस्थापनका लागि सुरक्षित स्थान नभइरहेका बेला यसको दीगो व्यवस्थापनको उपायस्वरुप प्रशोधन केन्द्रको अवधारणा ल्याइएको हो । यसबाट आगामी दुई वर्षपछि प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । चारआलीमा निर्माण गरिएको प्रशोधन केन्द्र दुई विघा ५ कठ्ठा जमिनमा फैलिएको साना सहरी, खानेपानी तथा सरसफाई उपभोक्ता समिति चारआलीका अध्यक्ष लालबहादुर थेबेले बताए ।
ढल तथा सेफ्टी ट्यांकी सरसफाइ व्यवसायीले सहरबाट सङ्कलन भएको मानव मलमूत्र खोलानाला र बन क्षेत्रमा फाल्दै आएका छन् । बिर्तामोड नगरपालिकाले ५७ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको २९ र मेचीनगरले १४ प्रतिशत लगानी गरेर प्रशोधन केन्द्र निर्माण गरेका हुन् ।
केन्द्रबाट अग्र्यानिक मल बनाएर किसानलाई बिक्री गर्ने लक्ष्य राखिएको छ । सञ्चालनको दुई वर्षपछि समितिले त्यही बमोजिमको मूल्य तोकेर बिक्री गर्ने लक्ष्य राखेको छ । मलको व्यवसायिक उत्पादन सुरु भएपछि झापाको कृषि उत्पादनमा उल्लेख्य योगदान पुग्ने दाबी थेबेको छ । खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुई ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो ।
झापाको मेचीनगर नगरपालिकाका १३ वटा वडालाई लक्षित गरी काँकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रतिदिन १२ घनमिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाएर कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्र निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले बताए । ६ करोड ७४ लाख रुपैयाँको लागतमा काँकडभिट्टाको प्रशोधन केन्द्र निर्माण गरिएको हो ।
काँकडभिट्टामा अवस्थित प्रशोधन केन्द्रको सञ्चालन काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ । मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडा र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर प्रशोधन गर्ने गरी प्रशोधन केन्द्रको निर्माण गरिएको छ ।
२४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्ने गरी प्रशोधन केन्द्र बनाइएको हो । यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत सङ्घीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी छ । बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढाइएको हो । speakcorner.com बाट