प्रसिद्ध समाजशास्त्री इम्मानुएल वालेस्टाइनको निधन भएको छ। सन् १९३० सेप्टेम्बर २८ मा जन्मिएका वालेस्टाइनको यही ३१ अगस्ट २०१९ को दिन निधन भएको हो।
विश्व व्यवस्था र आर्थिक इतिहासको बारेमा गहन बौद्धिक योगदान दिएका अमेरिकन समाजशास्त्री वालेस्टाइन माक्र्सवादी विचारधाराका पछिल्ला उच्च बौद्धिक मानिन्थे। समाजविज्ञानको क्षेत्रमा ‘विश्व व्यवस्था पद्धति’ एउटा फरक कोणबाट विश्व समाजलाई अध्ययन र विश्लेषण गर्ने बौद्धिक दृष्टिकोण निर्माणमा उनको नेतृत्वदायी भूमिका रहेको थियो।
पुँजीवादी व्यवस्थाले विश्व समाजमा निम्त्याएको असर र विभेदले विश्व समाज नै कसरी शोषणको चपेटामा परेको छ भन्ने कुरालाई तथ्यसंगत ढंगले उजागर गरेका उनी अमेरिकाको येले विश्वविद्यालयको वरिष्ठ अनुसन्धाता रहेका थिए।