वर्षको सबैभन्दा बढी बत्ती बालिने वा माग हुने तिहार लक्ष्मीपूजाको दिन (आइतबार) विद्युतको उच्च माग (पिक डिमाण्ड) १०८९ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले हिजो साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको हो । अघिल्लो वर्ष आजकै दिनको पिक डिमाण्ड ११ सय ५ मेगावाट थियो ।
गत आर्थिक वर्षभरि पिक डिमाण्ड १३ सय २० मेगावाटमै सीमित रह्यो । विगत वर्षको तुलनामा पछिल्ला वर्ष विद्युत माग निरन्तर घटिरहेको छ । हरेक वर्ष करिब १० प्रतिशतले माग बढ्ने प्राधिकरणको प्रक्षेपण पनि मिलेको देखिँदैन । यद्यपि, तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब ३०० मेगावाट रहेको प्राधिकरणले जनाएको छ । यस वर्ष काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३ सय ३१ मेगावाट रेकर्ड गरिएको छ । प्राधिकरकणले आफ्ना विद्युतगृहबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रका विद्युतगृहबाट ४ सय ३६ मेगावाट र भारतबाट १ सय ७ मेगावाट आयात गरी माग व्यवस्थापन गरेको जानकारी दिएको छ । प्राधिकरणका अनुसार चालू वर्ष ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो तथा निजी क्षेत्रका केही आयोजना प्रणालीमा थपिँदा भारतबाट आयातित परिमाण घटेको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत्गृह पूर्ण क्षमतामा चलाएको थियो । उता जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो ।
विगत वर्षझैँ यस वर्ष पनि केही स्थानमा बाहेक लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणको दाबी छ । प्राधिकरणले तीन वर्षअघि लक्ष्मीपूजाकै दिनबाट मुलुकलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरेको थियो । कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रण, कम ऊर्जा खपत गर्ने उपकरण प्रयोगले माग नबढेको बताए । ‘लक्ष्मीपूजाको दिन अधिकतम् माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार आपूर्तिको जोहो गरिएको थियो, अपेक्षा अनुसार माग नबढे पनि ऊर्जा खपत बढेको छ,’ उनले भने, ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिँदो रहेछ ।’
लक्ष्मीपूजाको दिन काठमाडौं चपली–शिवपुरी, सुनसरीको दुहबी—धरान, रुपन्देहीको बुटवल–नयाँ मिल र बाँकेको कोहलपुर–गुलरिया ३३ केभी प्रसारण लाइन ट्रिपिङ भई केही छिन विद्युत् आपूर्तिमा अवरोध भएको थियो । तर, करिब २ मिनेटभित्र सञ्चालनमा ल्याइएको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए । ‘काठमाडौं महाराजगन्ज वितरण केन्द्र अन्तर्गत बसुन्धरा, धुम्बाराही, सामाखुशी क्षेत्रका स्थानीय ट्रन्सफर्मरमा समस्या देखिएको थियो,’ उनले भने, ‘तयारी अवस्थामा रहेका हाम्रा प्राविधिक टोलीलाई तत्काल खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गर्न सफल भयौं ।’ प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युतगृहका प्रमुखहरू र त्यहाँका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा रहन आदेश दिएको थियो । उर्जाखबरमा समाचार छ।