नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएको थियो ।
सकृय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ६७१ रहेका छन् । होम आइसोलेसनमा सातहजार ७४२ रहेका छन् ।पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।
विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७४९ रहेका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । चारजना महिलासहित ६जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो ।
चितवनमा ४०, भक्तपुरमा ४० , तनुहँमा ९२ र रूपन्देहीमा ७७ वर्षीया महिला र रूपन्देहीमा ६५ र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ । यसरी बिहीबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ । नेपालमा मृत्युदर अहिले शून्य दशमलब ६ प्रतिशत छ ।