नेपालको सदनमा लिम्पियाधुरासहितको नक्सा र निशानलाई स्वीकृत गर्नु अघि नै भारतीय संचारमाध्यमहरुले नेपालविरुद्ध चालिने कदमका फेहरिस्त पेश गर्न थालेका छन्। यसै श्रृङ्खलामा हिन्दूस्थान टाइम्सले मइ मा लेखेको समाचारले भारतीय शासकहरु नेपालसितको ” विशेषसम्बन्ध” लाई कायम नगर्ने धम्कीका साथ प्रस्तुत हुने देखिन्छ।
यस पत्रिकाले लेख्छ- नेपालको हालको कदमलाई भारतीय विरोधी राष्ट्रवादको उदयको परिणाम हो। तर यो विवाद नेपाल भारतको “विशेष सम्बन्ध” को आधारमा मामुली हो। व्यवहारमा भारत र नेपाल बीच खुला सीमाहरू छन्; भारतले नेपालीहरुलाई कुनै रोकतोक वेगर भारतमा काम गर्न अनुमति दिन्छ; र नेपालीहरूले भारतीय सेनामा सेवा गर्छन्।
तर त्यस समाचारमा नेपालले मुलुकको आन्तरिक राजनीतिमा भारतको भूमिका अप्रत्यक्ष रूपमा स्वीकारेको छ र भारतीय सुरक्षा चासोहरूप्रति संवेदनशील रहेको कुरा बताउँदै नेपालको सार्वभौमसत्तालाई ठाडो चुनौंति दिने धृष्टता गरेको छ।
समाचारले हाल नेपालमा उदाएका नयाँ सम्भ्रान्तमा भारतसँग समान भावनात्मक बन्धन छैन, यसको मतलब काठमाडौं अब सम्बन्धमा फेरबदल गर्न चाहन्छ भन्ने निष्कर्ष दिएको छ।
समाचार अघि लेख्छ- हुन त भारतले विशेष सम्बन्धबाट पनि केही फाइदा लिएको होला तर यस सम्बन्धको फेरबदलले नेपालले मूल्य चुकाउनु पर्ने हुन्छ।
सो समाचारले नेपालले चुकाउनु पर्ने मूल्य समेत तोकेको छ – ती के हुन् भने सीमानामा कडाइ, नेपालीहरूलाई भारतमा काम गर्न प्रतिबन्ध लगाइने; यसको अर्थ भारतले नेपालको विकासका लागि आवश्यक द्विपक्षीय सहयोगमा कटौती गर्न सक्छ; र यसले नेपालको दक्षिणी मैदान तराईबाट राजनीतिक आतङ्क मच्याउन सक्छ।
अन्तमा यसले धम्कीयुक्त प्रश्न सोधेको छ– के काठमाडौं सार्वभौमिक हुने नाममा स्पष्ट रूपमा चीनपन्थी बनेर उग्रराष्ट्रवादी बन्दै यी मूल्य चुकाउन तयार छ?