भारतीय बिदेश मन्त्रालयका सुरक्षा ब्यूरो प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार काठमाण्डौ ओर्लिएको छ । एअर इण्डियाको उडानबाट दिउँसो डेढ बजे नेपाल आएको टोलीलाई सहसचिव पवनकुमार रोयले नेतृत्व गरेका छन् ।
टोलीमा अखुन सवरवाल, ज्ञान चन्द्र, कुलदीपकुमार अश्री, मण्डकलाठुर राधाकृष्णन बालु सम्लग्न रहेको अध्यागमन श्रोतले जनआस्थालाई बतायो । टोलीलाई दूतावासका कर्मचारीले स्वागत गरेर लगेका थिए ।
नेपालमा राजनैतिक अस्थिरतावीच सुरक्षासम्बध्द टोलीको यो आगमनलाई बिशेष अर्थ लगाइएको छ । यसअघि प्रधानमन्त्री केपी ओलीको अनुमतिमा भारतीय अन्तर्राष्ट्रिय जासुसी सँस्था ‘र’का प्रमुख सामन्तकुमार गोयल, स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे, बिदेशसचिव हर्षबर्धन शृङ्गला, बिदेश मन्त्रालयकै सहसचिव आलोकरन्जन झासहितका अलग अलग टोलीले दुई महिनावीच नेपाल भ्रमण गरिसकेका छन् । –जनआस्थाबाट