नेपालका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तर संक्रमणमुक्त भएर डिस्चार्ज भएपछि चारवटा जिल्लामा भने यितबेला संक्रमितको संख्या शुन्य भएको छ।केही समय अघिसम्म ती चार जिल्लामा पनि संक्रमित थिए। तर उनीहरु निको भएर संक्रमणमुक्त भएका हुन्।
संक्रमणमुक्त भएका जिल्लामा काभ्रेपलाञ्चोक, संखुवासभा, सोलुखुम्बु र भोजपुर हुन्।काभ्रेमा केही दिन अघिसम्म छ जना संक्रमित थिए। तर उनीहरु निको भइसकेका छन्।यस्तै संखुवासभामा २, सोलुखुम्बुमा १ र भोजपुरमा पनि ६ जनालाई कोरोना संक्रमण देखिएको थियो। तर हाल उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन्।
यी चार जिल्लामा संक्रमितको संख्या अहिले शुन्य भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी जिल्लालाई ग्रिन जिल्लामा राखेको छ।मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा १२ हजार ७ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये हालसम्म ३ हजार १३ जना निको भइसकेका छन् भने २८ जनाको मृत्यु भएको छ।
हालसम्म देशभर २ सय बढी कोरोना संक्रमित भेटिएको जिल्लाको संख्या २१ पुगेको छ। बैतडी जिल्ला पनि यसको सूचीमा परेसँगै २ सय बढी संक्रमित भेटिएको जिल्ला २१ पुगेको हो।२ सय बढी भेटिएका जिल्लाको पहिलो सूचीमा हाल पनि रौतहट नै रहेको छ। रौतहटमा सबैभन्दा धेरै १ हजार ३ सय १० संक्रमित भेटिएका छन्। दैलेखमा ७५८, कपिलवस्तुमा ७४३, सर्लाहीमा ६४४, महोत्तरी ६४१, कैलालीमा ५३८, दाङमा ५११, सुर्खेतमा ३६५, धनुषामा ३४५ लगायत छन्।
देशभर २० जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३६ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।