इराकले आफ्नो देशमा रहेका अमेरिकी सैनिकलाई फिर्ता जान भनेको छ । इराकी संसदले अमेरिकीसहित आफ्नो देशमा रहेका सबै विदेशी सैनिकलाई देश छोड्न निर्देशन दिने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
इरानका सर्वोच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको गएको शुक्रबार बग्दादमा अमेरिकाले गरेको हवाई आक्रमणमा मृत्युपछि इराकी संसदले विदेशी सैनिकलाई फिर्ता पठाउने सम्बन्धी प्रस्ताव पारित गरेको हो । इराकमा अहिले पाँच हजार अमेरिकी सैनिक छन् ।
संसदबाट परित भएको प्रस्तावमा इराक सरकारलाई आफ्नो भूमि, हवाई क्षेत्र र जलक्षेत्र कुनै पनि विदेशी फौजले प्रयोग गर्न नपाउने गरी रोक लगाउन निर्देशन दिएको छ । यस्तै अमेरिकी सैनिकलाई दिइँदै आएको सबै प्रकारको साथ र सहयोग रोक्न पनि संसदले सरकारलाई भनेको छ ।
इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्दो चाँडो इराकी भूमिमा विदेशी सैनिकको उपस्थिति अन्त्य हुनु पर्ने बताएका छन् । आन्तरिक तथा बाह्य चुनौती रहेको तर ती सबै चुनौतीसँग इराक आफै सामना गर्ने प्रधानमन्त्री महदीले बताएका छन् । इरानी सैन्य कमाण्डर सुलेमानीको मारिनु एक राजनीतिक हत्या रहेको इराकी प्रधानमन्त्रीले बताए ।
इराकी संसदले पारित गरेको प्रस्ताव बाध्यकारी भने होइन । इराकमा अमेरिकी सैनिकको उपस्थितिमा यसको कुनै असर पर्ने छैन । विदेशी सैनिकलाई इराकबाट बाहिर पठाउनका लागि इराकले नयाँ विधेयक ल्याउनु पर्छ र त्यसमार्फत विदेशी सैनिकको उपस्थिति सुनिश्चित गरेको सम्झौता खारेज गर्नु पर्छ ।
महिनौँसम्म चलेको सरकार विरोधी प्रदर्शनपछि अब्दुल महदीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए, तर अहिले पनि उनी कार्यवाहक प्रधानमन्त्री हुन् । इस्लामिक स्टेट (आइएस) लाई सखाप पारिएकाले अब इराकमा विदेशी सैनिकको भूमिका नरहेको उनले बताएका छन् ।
इराकमा रहेका अमेरिकी सैनिकले इराकी सैनिकलाई तालिम प्रदान गरिरहेको अमेरिकी दाबी छ । तर शुक्रबार हवाई आक्रमण गरी इरानी सैन्य अधिकारीको हत्या गर्नु आफ्नो सम्प्रभूतामाथिको आक्रमण रहेको इराकले बताएको छ ।