राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले आज पुष्टि गरेको कपिलवस्तुका दुई जना कोरोना संक्रमित ७ दिनअघि मात्रै भारतबाट आएको खुलेको छ ।
१६ र २२ वर्षका दुई संक्रमित लकडाउनकै समयमा सिमानाबाट लुकिछिपी प्रवेश गरेको मायादेवी गाउँपालिकाले जनाएको छ ।उनीहरु सीमासम्म मुम्बईदेखि हिँड्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार संक्रमित दुवैजना मायादेबी गाउँपालिकाका हुन् ।
उनीहरु वडा नं. १ को पकडी स्थित छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालयको क्वारेनटाइमा बस्दै आएका थिए । उनीहरु दुवैजना भारतको मुम्बईबाट लुकीछिपी नेपाल छिरेका थिए।
दुवैजनाको स्वाब संकलन गरी मंगलबार काठमाडौं पठाइएको थियो । उनीहरुलाई बुटवल पठाइने तयारी गरिएको प्रजिअ पौडेलले बताए । दुवैमा कोरोनाको लक्षण नदेखिए पनि संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। दुवैको अवस्था सामान्य छ।
यसअघि कपिलवस्तुको छिमेकी रुपन्देहीमा पनि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेमा २३ जना र रुपन्देहीमा १ संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन्। थाहाखबर