शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। नेपाल प्रहरीको विवरण अनुसार यो भूकम्पमा परि यो समाचार तयार पार्दासम्म १ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १ सय ४० जना घाइते भएका छन्। उद्धार तथा उपचारको क्रम जारी रहेकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति पुगेको छ। जाजरकोटको सदरमुकाम खलंगा बजार, नलगाढ नगरपालिका, आठबिसकोट नगरपालिका लगायतका क्षेत्रका अधिकांश घरहरु भत्किएका छन्।
शनिबार बिहानै भूकम्प प्रभावित क्षेत्रमा सरकारले स्वास्थ्यकर्मी र उद्धार टोली पठाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको स्वास्थ्य र उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपालगञ्जमा रहेको भेरी प्रादेशिक अस्पताललाई डेडिकेटेड उपचार केन्द्र तोकिएको छ। गम्भिर घाइते भएकाहरुलाई नेपालगञ्ज तथा सुर्खेतसम्म पुर्याउन भनेर नेपाली सेनाको हेलिकोप्टर र नेपाल वायु सेवा निगमको जाहाज पनि खटिएको छ।
मानविय क्षतिका दृष्टिले ८ हजार भन्दा बढीको ज्यान लिएको ०७२ को भूकम्पपछि नेपालमा गएको यो नै सबैभन्दा ठूलो भूकम्प हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राती नै जाजरकोटमा ४ म्याग्निच्युडभन्दा माथिका पाँचवटा परकम्प गएका छन्।
पश्चिम नेपालमा २ वर्षमा ५० भन्दा बढी भूकम्प
पश्चिम नेपालमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ। पुस ०७८ यता मात्र पश्चिम नेपालमा न्यूनतम ४ म्याग्निच्युड र अधिकतम ६ म्याग्निच्युडका ५० भन्दा बढी भुकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरण अनुसार पश्चिम नेपालका डोटी, बाजुरा र बझाङ जिल्लामा बढी भूकम्पका धक्का महसुस गरिएको छ।
केन्द्रका अनुसार पुस ०७८ देखि हालसम्म बझाङमा सबैभन्दा धेरै भूकम्प गएको छ। केन्द्रको विवरण अनुसार बझाङमा पुस ०७८ देखि हालसम्म २३ पटक भूकम्प गइसकेको छ।
त्यसैगरी बाजुरामा १५ पटक भूकम्प गएको छ। दार्चुला केन्द्रविन्दु बनाएर ४ पटक भूकम्प गइसकेको छ। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार पछिल्लो समय लगातार गइरहेका भूकम्पले बाजुरामा ७ हजार १ सय ३० घरमा क्षति पुगेको छ। १० माघ ०७९ मा भूकम्पमा परेर एक महिलाको मृत्यु भएको थियो।
२२ कार्तिक ०७९ मा डोटी केन्दविन्दु भएर आएको भूकम्पमा परेर ६जनाको मृत्यु भयो। असोज ०८० मा बझाङमा गएको भूकम्पले ४ सय घर क्षतिग्रस्त भए।
पश्चिम नेपालमा यस अगाडि १४ साउन ०३७ मा भूकम्प गएको थियो। त्यो भूकम्पमा परेर १ सय ३ जनाको मृत्यु भएको थियो भने ३ सय ९१ जना घाइते भएका थिए। यसभन्दा पहिले असार ०२३ मा पश्चिम नेपालमा गएको भूकम्पमा परेर २४ जनाको मृत्यु भएको थियो।
दक्षिणबाट उत्तरतिर सर्दै गरेको ‘इन्डियन प्लेट’ उत्तरमा रहेको ‘युरेसियन प्लेट’ मुनि घुस्रिरहेको छ। यी दुई प्लेट एक आपसमा जोल्टिने क्षेत्रमा पर्छ नेपाल। ‘इन्डियन र युरोसियन प्लेट’को घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा पर्छ। खानी तथा भू-गर्भ विभागका अनुसार प्रतिवर्ष ४ सेन्टिमिटरका दरले ‘इन्डियन प्लेट’ उत्तरतिर सरिरहेको छ। यो प्लेट उत्तरतिर सरेर ‘युरोसियन प्लेट’सँग ठोक्किदा उत्पन्न हुने उर्जा पृथ्वीको सतहसम्म महसुस भएमा भूकम्प आएको मानिन्छ।
विभागका अनुसार ‘विगत करिब ५०० वर्षदेखि पश्चिम नेपालमा (गोरखादेखि पश्चिम देहरादुरनसम्म) ठूला तथा महाभूकम्पहरु गएका छैनन्। त्यसैले यो क्षेत्रमा महाभूकम्प जान सक्ने शक्ति सञ्चित भएको बुझ्न सकिन्छ।’ तर, यसरी सञ्चित भएको शक्ति एकपैटक महाभूकम्पका रुपमा निस्कन्छ अथवा स–साना भूकम्पका रुपमा निस्कन्छ भन्न सकिदैन।