प्रत्येकजसो भाषणमा कसै न कसैलाई गाली गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले आइतबार आयोजित एक सभामा भने कसैलाई पनि गाली गरेनन्। शारीरिक रूपमा अपाङ्गता र अशक्तता भएका आफूपक्षीय कार्यकर्ताहरूको भेलामा ओलीले राजनीतिक दलका कुनै पनि व्यक्तिलाई गाली गरेनन्। काठमाडौंको राष्ट्रिय सभामा आयोजित सो कार्यक्रममा ‘संसद विघटनको विरोध गर्नेहरू देशविरोधी हुन्’ भन्दाबाहेक अन्य कुनै खालका दुर्वचन उनले प्रयोग गरेनन् । व्यक्ति तोकेर कसैलाई गाली गरेनन्।
कार्यक्रममा सम्बोधन गर्दै उनले बरु आफू पनि केही हदसम्म ‘अपाङ्ग’ भएको बताएका छन्। आफूले तेस्रो पटक मृगौला फेरेर पनि निरंकुश र अलोकतान्त्रिक शक्तिसँग भिडिरहेको बताए । उनले भने, ‘तीन वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा कोही छैन।’
कार्यक्रमममा राजनीतिक अभिव्यक्ति दिने क्रममा उनले भने, ‘आगामी बैशाखमा हुने चुनावमार्फत देशद्रोही तत्वलाई ठेगान लगाउनुपर्छ।’ अपाङ्गता भएका व्यक्तिहरूले समाजमा ठूलो योगदान गरेको भन्दै उनले भने, ‘अहिलेको पछिल्लो वैज्ञानिक दुनियाँका जोन हकिन्स भन्ने वैज्ञानिक छन, उनले ठूलाठूला विज्ञानका थ्योरीहरू पत्ता लगाएका छन्।’
ओलीले उल्लेख गरेको जोन हकिन्स भन्ने व्यक्ति पछिल्लो समयका वैज्ञानिक होइनन्। त्यस्तो नाम गरेको कुनै चर्चित वैज्ञानिक अहिलेसम्म छैन। बरु १७९५ मा अमेरिकामा जन्मेका जोन हप्किन्स भन्ने व्यक्तिचाहिँ समाजसेवी थिए । उनका नाममा अमेरिकामा जोन हप्किन्स भन्ने विश्वविद्यालय अहिले पनि संचालनमा छ।
आफूलाई वाम्बार विद्वान र सर्वज्ञानी देखाउन खड्ग ओलीले उल्लेख गर्न खोजेको व्यक्तिको नामचाहिँ स्टेफन हकिन्स हुनसक्छ। स्टेफन हकिन्स हाम्रो शताव्दीका महान वैज्ञानिक हुन्। शारिरीक रूपमा अशक्त भएपनि हकिन्सले व्रम्हाण्डका बारेमा खोजहरू गरेका थिए । २ वर्षअघि उनको निधन भएको थियो ।










