काठमाडौंमै रहेर पनि तत्कालीन माओवादीको संरक्षणमा १२ वर्षदेखि प्रहरीले पक्राउ गर्न नसकेका फरार अभियुक्त हुन्, कालीबहादुर खाम । माओवादी सशस्त्र विद्रोहमा उनको नाम एउटा सफल र साहसी सैन्य कमाण्डरका रूपमा परिचित थियो । तर, शान्ति प्रक्रियामा आएपछि उनी शृंखलावद्ध अपराधका अभियुक्त बने ।
नेकपा विभाजनमा तत्कालीन माओवादीका पूर्वलडाकुलाई आफ्नो पक्षमा ल्याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विवादास्पद छविका पूर्वकमाण्डर उनै कालीबहादुर खामलाई अघि सारेका छन् । खामलाई साथ लिएर नेकपा ओली समूहले पूर्वमाओवादी लडाकुभित्र आफ्नो पकड कायम गर्न खोजेको स्रोत बताउँछ ।
गृहमन्त्री थापाले देशभरका पूर्वलडाकुलाई आफ्नो समूहमा ल्याउन खामलाई परिचालन गरेका छन् । ‘खामसहित पूर्वकमाण्डरहरूको एउटा टोली अहिले देश दौडाहामा छ’, थापानिकट स्रोतले भन्यो, ‘उनी अहिले शान्तिकालपछि दुःख पाएका, पार्टीले बेवास्ता गरेका, घाइते र अपाङ्ग पूर्वलडाकुलाई भेट्दै हिँडेका छन् ।’
बादलको समर्थनमा लाग्न आग्रह गर्दै हिँडेको टोलीमा अर्का विवादास्पद पूर्वकमाण्डर राजेश मास्के पनि छन् । मास्के उनै हुन्, जो डिभिजन कमाण्डर हुँदा शक्तिखोर शिविरको ३ करोड गिटीबालुवा कारोबारमा लगानी गरेको आरोपमा पार्टी कारबाहीमा परेका थिए । २०६९ साल साउनको पहिलो साता काठमाडौंमा बसेको सातौँ बिस्तारित बैठकले २ करोड फिर्ता गराउने निर्णयसमेत गरेको थियो । अहिले उनी सक्रिय राजनीति छाडेर ठेक्कापट्टामा संलग्न छन् ।
गृहमन्त्री बादल र पूर्वी रुकुमका पूर्वमाओवादी नेताहरूको सहयोगमा खामले प्रधानमन्त्री केपी ओलीनिकट पुगिसकेको बालुवाटारस्रोत बताउँछ । पूर्वी रुकुमको मगरबस्तीमा अहिले पनि खामको बलियो पकड छ । त्यहाँको संगठन जोगाउन पनि खामलाई हात लिने रणनीति ओली समूहले लिएको छ ।
पूर्वलडाकुको एउटा समूहले खामलाई मन्त्री बनाउनसमेत प्रस्ताव गरेको थियो । अदालतबाट मुद्दा किनारा नलागेको भन्दै ओलीले मानेनन् । तर, खामले ओलीलाई प्रभावित पारिसकेको बुझ्न १५ पुसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनको मन्तव्य सुने पुग्छ ।
ओलीले नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गर्ने क्रममा भनेका थिए, ‘युवाहरूलाई भड्काएर आन्दोलनमा लगायो, घाइते अपाङहरू बिस्तरा परेका छन् । अंगभंग भएका छन्, शरीर चल्दैन । त्यस्तो पीडा के थाहा उहाँलाई ? हिजो साथ दिएका कालीबहादुर खामहरू कहाँ छन्?’
खाम डिभिजन कमाण्डर रहेको चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरिएको थियो । डिभिजनको सर्म्र्पक कार्यालय उनै श्रेष्ठको घरमा राखिएको थियो । सो कार्यालयबाट पेस्तोल र पैसा चोरी गरेको आरोपमा अपहरण गरिएका श्रेष्ठ २८ २०६५ साल वैशाखमा मारिएका थिए ।
मुख्य अभियुक्त बनाएर परेको मुद्दामा उनी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । जिल्ला अदालत चितवनले उनीसहित हत्यामा जोडिएका केशव अधिकारी र गंगाराम थापाको मुद्दालाई मुल्तबीमा राखेको छ । फरार सूचीमा राखेर प्रहरीले उनको खोजी गरिरहे पनि भेटाउन नसकेको दाबी गर्दै आएको छ । उनीमाथि सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दासमेत छन् ।
पूर्वलडाकुलाई आ-आफ्नो समूहमा तान्न तत्कालीन जनमुक्ति सेनाका सुप्रिमो प्रचण्ड र सैन्य योजनाकार बादल तँछाडमछाड गरिरहेका छन् । पूर्वजनमुक्ति सेना नेपालका अध्यक्ष वीरु तामाङ ‘सुदीप’ र महासचिव देवी पराजुली ओली समूहमा छन् ।
तामाङ गृहमन्त्री थापाको स्वकीय सचिवालयमै छन् । माओवादी ‘जनयुद्ध’का घाइते तथा अपाङ्गका लागि उपचार खर्च र नियमित भत्ताको व्यवस्था गर्न पूर्वलडाकुले माग गरेका छन् । पूर्वलडाकुलाई आफूतर्फ आकर्षित गर्ने योजनाका साथ गृहमन्त्री थापा कार्यविधिको तयारीमा रहेको पनि गृह मन्त्रालयस्रोतले बतायो ।
तामाङसहित पदाधिकारीहरू ओली समूहमा लागेपछि प्रचण्ड–माधव नेपाल समूहले अर्जुन थापाको अध्यक्षतामा संगठन पुनर्गठन गरेको छ । प्रचण्ड–नेपाल समूहले २७ पुसमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा पूर्वजनमुक्ति सेनाको भेलासमेत राखेको छ ।
भेलालाई अध्यक्ष प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने उपाध्यक्ष लेनिन विष्टले बताए । ‘भेलाको तयारी भइसकेको छ । पूर्वजनमुक्ति सेनाको ठूलो पंक्ति हामीसँगै रहने विश्वास छ’, उनले भने । जनक नेपाल/शिलापत्रमा प्रकाशित