अरुण, बरुण र तमोरको संगम स्थल त्रिवेणीमा कोशी नदिको बीचमा रहेको ‘खुवालुङ’ मास्न खोजेको स्पष्ट देखिन्छ । किराती भाषमा “खुवा” भनेको “पानी” र “लुङ” भनेको “ढुंगा” हो । पानीमा रहेको विशाल ढुंगा भएकोले त्यसको नाम किरातीहरुले खुवालुङ राखेको मान्यता किराती समुदायमा छ।
सुनसरीको चतरादेखि भोजपुरको सिम्लेसम्म चल्ने पानी जहाजलाई अरुण, बरुण र तमोर नदिको संगम स्थालमा नदिको बिचमा रहेको ठूलो ढुंगाले अफ्टेरो गरेको भन्दै त्यसलाई फुटाउनुपर्ने आवाज पहिलादेखि नै उठिरहेको थियो ।
अहिले उक्त ढुंगालाई फुटाउन व्यवसायीहरुको पहलमा सरकारले बजेट छुट्याएर काम अघि बढाएको पाइएको छ । उक्त ढुंगालाई किरातीहरुले आफ्नो आस्था र शक्तिकेन्द्र भएको बिश्वास गर्छन् । हिन्दुहरुको हरिद्वार, क्रीस्चियनहरुको योरुशेल, इस्लामहरुको मक्का मधिना र बुद्धिस्टको लुम्बिनी जस्तै किरातीहरुकोलागी त्यति नै पवित्र खुवालुङ पबित्र मानिन्छ ।
आदिम कालमा किरातीहरु नदि पछ्याउदै पहाड तर्फ लाग्दा उक्त खुवालुङ पार गर्न नसकेको र त्यसको पूजाआजा गरेपछि मात्रै किरातीहरुले खुवालुङ पार गरेको मुन्दुममा उल्लेख भएको बताइन्छ । त्यसपछि किरातीहरुले खुवालुङको पूजा आराधना गरेर शक्ति आर्जन गर्न सकिन्छ भन्ने धार्मिक आस्था रहेको छ ।
त्यसकारण ऐतिहासिक र धार्मिक स्थान भएको किराँतहरुको पबित्र भुमि सम्पूर्ण पक्षले बेलैमा संरक्षण गर्नुपर्ने देखिन्छ ।-badsaha.com