प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा वुधवार पनि सुनुवाइ भइरहेको छ। आजको सुनुवाइमा बहस गर्दै ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनताले दिएको अधिकारको दुरुपयोग गरेर जनताकै सार्वभौम अधिकार मिचेको तर्क गरेका छन् । उनले इजलासमा भने, ‘जनताको वारिसको रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले सक्याएकोमा मलाई दुःख लागेको छ।’
पार्टीको आन्तरिक विवादमा ओलीले संसद सक्याएको भण्डारीले बताए। भण्डारीले भने, ’बुहारी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन्। पार्टीका मान्छेलाई देखाइदिन संसद उनले विघटन गरे। संसदको के कसुर थियो?’
भण्डारीले मनमोहन अधिकारीले गरेको संसद विघटनमा सर्वोच्चले गरेको व्याख्या पढ्न पनि उनले इजलासलाई सुझाए।
‘संसदलाई पाँच वर्ष काम दिनुपर्छ र प्रधानमन्त्रीले संसदको विश्वासमा काम गर्नुपर्छ,’ भण्डारीले भने, ‘ओलीले जनताको वारेसको विश्वासमा काम गर्नु पथ्र्यो। जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो, उहाँले संसदै विघटन गरिदिनु भयो,’ भण्डारीले सोधे, ’संविधानमै नभएको अधिकार प्रयोग जनताको वारेसलाई स्वाहा गर्ने?’
उनले भने, ‘महाअभियोगको डरले न्यायाधीशहरू नेताको दासजस्तै बनेका छन् । न्यायाधीशहरू डराउँदै नेताहरूका कुरा मानिरहेका छन्।’ उनले प्रधानमन्त्री केपी ओलीले ‘छोरी कुटेर बुहारी तर्साउने’ काम गरेको टिप्पणी गर्दै संसद् विघटन गरेर ओलीले नागरिकको सार्वभौमसत्तामाथि प्रहार गरेको बताए ।