प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै देशभर विरोध जारी छ । यस विषयमा सर्वोच्च अदालतमा बहस जारी रहेपनि अधिकांश राजनीतिक दलहरुले प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गरिरहेका छन् ।
ओलीले माक्र्सवादलाई अवसरवाद बनाएः माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले माक्र्सवादलाई अवसरवादको रुपमा बुझेको टिप्पणी गरेका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले माक्र्सवादलाई अवसरवादका रुपमा स्वार्थको साधन बनाउन खाजेको जिकिर गरे । उनले ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा र आस्था कमजोर भएको बताए ।
संसद विघटनलाई वैधानिक भन्न पाइदैनः गगनकुमार थापा
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद विघटनको कदमलाई सर्वोच्च अदालतले वैधानिक भन्न नपाउने बताएका छन् । पर्सामा आइतबार आयोजित सभामा नेता थापाले अदालतले पनि संविधान पल्टाएरै फैसला गर्ने भन्दै उसले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए । केही समय अघि देशभक्तिको भावनासँग खेलेका प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो धार भुत्ते भएको भन्दै थापाले ओलीले अब भगवानप्रतिको आस्थामाथि खेल्ने कोशिस गरेको आरोप लगाए ।
प्रधानमन्त्रीले झुठो दाबी गरे : वर्षमान पुन
नेकपाको प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले आफूसँग संसद विघटनको विशेष अधिकार रहेको भन्दै प्रधानमन्त्री ओलीले झुठो दाबी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली जनताबाट नभई संसदबाट चुनिएको भन्दै उनले ओलीसँग संसद विघटनको अधिकार नरहेको बताए । पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङ्जामा सम्बोधन गर्दै पुनले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट ओली भागेको टिप्पणी गरे ।