प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आवाज निरन्तर उठिरहेको छ । मंगलबार पनि देशका विभिन्न स्थानमा भएका कार्यक्रम तथा भेलामा आन्दोलनरत दलका नेताहरुले संघर्ष जारी राख्ने बताएका छन् ।
सरकारको निर्णय सदर भए देश भूमरिमा फस्छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भूमरिमा फस्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा नेपालबाट अन्तराष्ट्रिय संञ्चार माध्यममा आबद्ध पत्रकारहरूसँगको भेटमा अध्यक्ष दहालले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा हुने निर्वाचन पनि असंबैधानिक र अवैधानिक हुने टिप्पणी गरे । यद्यपी आफूहरु संविधानको अक्षर र भावनाअनुसार नै न्यायलयबाट निर्णय आउनेमा विश्वस्त रहेको अध्यक्ष दहालले बताए ।
आन्दोलनबाट केपी ओलीलाई सडकमा ल्याउछौँः घनश्याम भूसाल
नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भूसालले संविधान जोगाउन आन्दोलन नरोकिने बताएका छन् । बाग्लुङमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता भूसालले संकटकाल वा आदेशले आन्दोलन र क्रान्ति नरोकिने बताएका हुन् । असंवैधानिक कदम चाल्ने केपी ओलीलाई आन्दोलनले घिसारेर सडकमा ल्याउने भन्दै नेता भूसालले क्रान्तिकारी शक्तिले पनि सकेन भने डरलाग्दो प्रतिक्रान्तिले घिसारेर सडकमा ल्याउने बताए ।
गलत कदमको टिप्पणी गर्ने अधिकार छ : रामकुमारी झाँक्री
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार आफूहरूसँग सुरक्षित भएको बताएकी छिन् । नेकपा माधव–प्रचण्ड पक्षले बाग्लुङमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा झाँक्रीले केपी समूहको उपाध्यक्षकै भूमिकाको काम राष्ट्रपतिले गरेपछि टीका–टिप्पणी हुनु नौलो नभएको जिकिर गरिन् । झाँक्रीले भनिन्, ‘पटक–पटक संविधान र कानून च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर आवाज निकाल्नुपर्छ।’
Discussion about this post