प्रदेश एकको उदयपुरपछि प्रदेश पाँचको नेपालगञ्जमा धेरै कोरोना संक्रमित भेटिएका छन्। प्रदेश पाँचको नेपालगञ्जमा एकैदिन नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जस्थित ल्याबमा परीक्षण गर्दा नौजनामा कोरोना पुष्टि भएको हो।
नेपालगञ्जमा आज भेटिएका नौजना यसअघि कोरोना पुष्टि भएका मुस्लिम धर्मगुरुको सम्पर्कमा आएका स्थानीयबासिन्दा हुन्’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘धर्मगुरु बस्दै आएको मस्जिदमा पुगेका सबैजनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा भेटिएका जतिको परीक्षण भएको हो। अन्यको पनि परीक्षण भइरहेको छ।’ यसअघि नेपालगञ्ज उपमहानगरपालिकास्थित एक मस्जिदमा रहेका धर्मगुरुको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ।
नेपालगञ्जका धार्मिकस्थलमा रहेका धर्मगुरु र उनीहरुका सहयोगीको कोरोना परीक्षण गरिएको हो। नेपालगञ्जको एक मस्जिदमा बस्दै आएका ६० वर्षीय धर्मगुरु (जमाती) मा कोरोना संक्रमण फेला परेपछि अन्यमा पनि परीक्षण गरिएको थियो। आरटी-पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएपछि धर्मगुरु र उनी बस्दै आएको मस्जिदलाई निगरानीमा राखिएको थियो। ‘एकजना धर्मगुरुको कोरोना रिपोर्ट आएपछि उनको ट्राभल हिस्ट्री खोजेर अन्यको कोरोना परीक्षण गरेपछि थप संक्रमित भेटिएका हुन्’, स्वास्थ्यका ती अधिकारीले भने।
उनीहरुलाई आइतवार नै आइसोलेशनमा राखेर उपचार शुरु गरिँदैछ। कोरोना संक्रमण भएका व्यक्तिलाई खजुरास्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिनेछ। मस्जिदमा बस्दै आएका धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सुरक्षाकर्मीले उनी बस्दै आएको मस्जिदलाई सिल गरिएको थियो। उदयपुरको भुल्केपछि नेपालगञ्जमा धेरै कोरोना संक्रमित भेटिएका हुन्। उदयपुरका २८ जना कोरोना संक्रमितको हाल बिराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। थाहाखबर