नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक कलह चुलिँदै जाँदा शीर्ष नेताहरूकै अगुवाइ र निर्देशनमा तल्लो तहसम्म गुट भेला र समानान्तर गतिविधिहरू सुरू भएका छन् ।
नेकपाको संस्थापन पक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली गुटका नेताहरूको सक्रियतामा जिल्लाजिल्लामा मदन भण्डारी फाउण्डेसनको नाममा गुट भेला सुरू भएका हुन् ।बागमती प्रदेश कमिटीका सचिव तथा केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल र अर्का केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको सक्रियतामा उपत्यकाभित्र यस्ता गतिविधि जारी छन् ।
बागमती प्रदेश सचिव पोखरेलको संयोजनमा उपत्यकाका तीनवटै जिल्ला र काभ्रेमा तत्कालीन एमालेनिकट प्रदेश र जिल्ला कमिटीका नेताहरूको गुट भेला धमाधम भइरहेको नेताहरूले बताएका छन् । २१ साउनमा ललितपुरबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने तत्कालीन एमालेका ९ मध्ये ७ जना सदस्यलाई बोलाएर पोखरेल र श्रेष्ठले मदन भण्डारी फाउण्डेसनका नाममा टोल कमिटी बनाएर समानान्तर गतिविधि गर्न निर्देशन दिएका छन् ।
जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, प्रदेश सदस्यहरू मधुसुदन पौडेल, सुरेन्द्रमोहन शर्मा, मैना अछामी, बाबुकाजी श्रेष्ठ, अप्सरा चापागाईंलगायतका नेतालाई डाकेर पोखरेल र श्रेष्ठले जुनसुकै बेला पार्टी फुट्न सक्ने भन्दै मदन भण्डारी फाउण्डेसनमार्फत संस्थापनको पक्षमा जनमत निर्माण गर्न निर्देशन दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।
उनीहरूले तत्काल संस्थापनको पक्षमा जनमत सिर्जना गर्ने, महाधिवेशन बहस सुरू भएपछि जनताको बहुदलीय जनवादका पक्षमा बहस चलाउनेलगायतका विषयमा उभिन नेताहरूलाई निर्देशन दिएका छन् ।
ललितपुरको भेलाकै दिन केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र नेकपा सांसद कृष्ण राईले काठमाडौंमा रहेका प्रदेश र जिल्ला कमिटीका आफूनिकट नेतालाई बोलाएर यस्तो निर्देशन दिएको काठमाडौंबाट प्रदेशमा प्रतिनिधित्व गर्ने एक नेताले जानकारी दिए । यो क्रम दैनिकजसो चलिरहेको ती नेताको भनाइ छ ।
फाउण्डेसनको नाममा भक्तपुरमा समानान्तर भेला राख्ने जिम्मा भने नेता महेश बस्नेतले पाएका छन् । उनले फाउण्डेसनको नाममा केही अघि भक्तपुरमा भेला आयोजना गरेका छन् ।काभ्रेमा भने यसको संयोजन पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटाले गरिरहेको नेताहरूले जानकारी दिएका छन् । बाँस्कोटाले पनि फाउण्डेसनकै नाममा काभ्रेका नेता र कार्यकर्ता भेला सम्पन्न गरिसकेका छन् ।
कोरोनाका कारण उपत्यकाबाहिरका आफूनिकट नेताहरूसँग भने भेटघाट र फोनमार्फत प्रदेश कमिटी सचिव पोखरेलले नेताहरूलाई फाउण्डेसनमार्फत गतिविधि गर्न संयोजन गरिरहेको नेताहरूको दाबी छ ।
उनले जिल्लाजिल्लामा सम्पर्क गरेर अल्पमतमा रहेको ठाउँमा फाउन्डेसनमार्फत र बहुमत भएका ठाउँमा सम्बन्धित कमिटीमार्फत संस्थापनको पक्षमा जनमत निर्माणका काममा जुट्न आग्रह गरेको प्रदेश कमिटीका अर्का एक नेताको दाबी छ । शिलापत्र