प्रतिगमनविरोधी आन्दोलन जारी रहँदा बुधवार पनि देशभर विभिन्न दलले ठूलासाना अनेक कार्यक्रम गरेका छन्। र, यी ती कार्यक्रमहरू आएका अभिव्यक्तिहरूमध्ये यी अभिव्यक्ति प्रायः सबै मिडियामा प्राथमिकतामा परे :
ओलीले एकाधिकार लाद्न खोजेः माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट एकाधिकार लाद्न खोजिएको आरोप लगाएका छन् । बुधबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले ओली २०७१ मा तत्कालीन एमालेको अध्यक्षमा निर्वाचित भएपछि आफूहरु पीडामा परेको र पार्टी पनि ओरालो लागेको बताए । सबै नेता उस्तै हुन् भनेर भन्दा आफूलाई घोच्ने गरेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले आफूलाई ‘महेन्द्र मोरङ पढ्ने विराटनगरको ठेट्नो केटो’ भनेको स्मरण गर्दै नेपालले भने,‘ यो कुरा मलाई भन्दा पोल्न त पोल्छ । तर, दुर्वाच्य बोलेर जवाफ दिन मन छैन ।’
संवैधानिक निकायको सहजीकरण गर्न जनअदालतमा जान्छौँः प्रचण्ड
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताएका छन् । पेरिसडाँडामा बुधबार आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका हुन्।
अध्यक्ष प्रचण्डले भने ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं। यो दुर्भाग्यपूर्ण कुरा हो ।’ प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेको बताउँदै आएका छन्।
हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न खोजेको होइन : प्रचण्ड
यस्तै, बुधबार राजधानीमा सम्पादकहरुसँगको छलफलमा नेकपा अध्यक्ष प्रचण्डले आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् । प्रचण्डले भने, ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।’आफूहरु निकट अनेरास्ववियूको भेलालाई यही माघ ४ गते काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन भनेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीले महाअभियोगको सामना गर्नुपर्छः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । जसपा सप्तरीले बुधबार राजविराजमा गरेको विरोध सभामा अध्यक्ष यादवले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिए । आफूले जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीले बोकेको भएपनि त्यो काम नलाग्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले धेरै झुठ बोलिरहेको उनको आरोप छ।