नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि वार्षिक १५ देखि १६ अर्ब रुपैयाँ बराबरको मकै आयात हुने गरेको छ ।
कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठूलो परिणाममा आयात हुने गरेको हो । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सात महिनामा १३ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बराबरको ३ लाख ७१ हजार ९ सय ५६ टन मकै आयात भएको हो । आर्थिक वर्ष २०७७-०७८ मा १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० हजार ९ सय ४१ टन मकै आयात भएको थियो ।
विशेषगरी मकै अर्जेन्टिना, ब्राजिल, चीन, भारत, क्यानडा, इन्डोनेसिया, साउथ अफ्रिका, टर्की र अमेरिकाबाट आयात हुन्छ । मकै पोल्टी फर्मका लागि बढी प्रयोग हुने गर्छ । दानासँगै मकैको पिठो, कर्न फ्लेक्स, मकैको पाउडरलगायत अन्य पदार्थ अझै ठूलो परिमाणममा आउने गर्छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ९ लाख ५७ हजार ६ सय ५० हेक्टरमा २८ लाख ३५ हजार ६ सय ७४ टन मकै उत्पादन भएको थियो । मकै उत्पादनमा सामान्य वृद्धि भए पनि आन्तरिक उत्पादनले नपुगेर सो वर्ष १६ अर्बभन्दा बढीको आयात भएको छ ।
मकै नेपालको प्रमुख खाद्यान्न बाली धानपछि दोस्रोमा आउँछ । व्यापार विज्ञ रविशंकर सैंजु व्यावसायिक फार्मिङ गरी मकैको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताउँछन् । “सुदूरपश्चिममा मकै खेतिका लागि राम्रो ठाउँ छ,” उनले भने, “उत्पादन बढाउन व्यावसायिक खेती, भण्डारणको व्यवस्था र सप्लाइ चेनको व्यवस्था गर्नुपर्छ ।”
व्यवसायीका अनुसार पशुपन्छीलाई खुवाउन प्रयोग हुने प्यालेट दाना उद्योगलाई दैनिक १ हजार ४ सय टन मकै आवश्यक पर्छ । दाना तयार पार्न ७० प्रतिशत मकै नै आवश्यक पर्छ । यसले गर्दा उत्पादकत्व बढ्न सकेको छैन । नेपालमा प्रतिहेक्टरमा करिब दुई टनसम्म मकै उत्पादन हुन्छ । उत्तरी छिमेकी मुलुक चीनमा भने प्रतिहेक्टर करिब साढे ६ टन उत्पादन हुन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० चार ९ सय ४१ टन मकै आयात भएको थियो । यस्तै आव २०७६-०७७ मा १४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको ४ लाख ४८ हजार ४ सय ४२ टन मकै आयात भएको विभागको तथ्यांक छ । यस्तै आव २०७५-०७६ मा १२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार ७ सय ५२ टन मकै आयात भएकोमा अव २०७४-०७५ मा १२ अर्ब ५५ करोड ४६ लाख रुपैयाँ बराबको ४ लाख ९५ हजार १ सय ९८ टन मकै आयात भएको थियो ।
वर्षनि मकैको आयात बढ्दो क्रममा रहेको छ । बजारमा खपत बढ्दै गएपछि आयातपनि बढ्दै गएको हो । मकै मात्र नभएर नेपालमै पर्याप्त उत्पादन गर्न सकिने सम्भावना धेरै कृषि उत्पादन बाहिरी मुलुकबाट आयात हुने गर्छ । खाद्यान्न, तरकारी, फलफूल, उन्नत बीउलगायतका अन्य कृषि उत्पादन विदेशबाट आयात हुने गर्छ । खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुनु र काम गर्ने जनशक्ति अभावले गर्दा पनि उत्पादन बढाउन सकिएको छैन । तराई, पहाड र हिमाल जुनसकै ठाउँमा पनि मकै उत्पादन हुन्छ ।
करिब सात अर्बको फलफूल आयात
चालू आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउको आयात भएको छ । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।
स्याउ खेतीको प्रचुर सम्भावना हुँदाहुँदै पनि आयात बढ्नुले नेपाल फलफूलमा पनि परनिर्भर हुँदै गएको देखिन्छ । सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको थियो । तर, चालू आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार माघ मसान्तसम्ममा टर्कीबाट २६ लाख २५ हजारको स्याउ आयात भएको छ भने समग्रमा चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।
यस्तै, सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा भारत, दक्षिण अफ्रिका र इजिप्टबाट सुन्तला आउने गर्छ । त्यस्तै चालु आवको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ ।
साथै, आँपमा पनि नेपाल परनिर्भर हुन थालेको छ । चालु आवको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ । – लक्ष्मी सापकोटा/कारोबार दैनिक