नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज(बुधबार)देखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ। परराष्ट्रमन्त्री स्तरमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा प्रबुद्ध समूह (ईपीजी) ले यसअघि सम्वोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ। यस बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुनेछ। भदौ ४ र ५ को दुई दिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल बुधबार काठमाडौं आएकोछ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आएका हुन्। बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरावलोकन गर्ने छ। नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो। यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो।