प्रधानमन्त्री ओलीको हर कमजोरीमा काँध थाप्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अब उनको ढाकछोप गर्न र सबै सबै काममा साथ् दिन नसक्ने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा चलिरहेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा उनले दिएको प्रतिक्रिया विवादित भैरहेका बेला उनले अब हरेक गल्तीमा ढाकछोप गर्न नसक्ने बताएका हुन् ।सरकारी निवासमै प्रधानमन्त्री ओलीलाई भेटेर अब सबै कामको ढाकछोप गर्न नसक्ने, र यसरी ढाकछोप गरेरै नसकिने बताएका छन् ।
स्रोतको जानकारी अनुसार बैठकमा प्रधानमन्त्रीको बचाउ गरेका मन्त्री भट्टराईले प्रधानमन्त्रीसँग भेटेर चाहिं अनुपस्थित हुनु पार्टी र स्वयं ओलीकै लागि पनि प्रतिउत्पादक हुने बताएका छन । मन्त्री भट्टराइले प्रधानमन्त्री ओलीसंग आफूले यहि सरकारमा भएकाले केहि ढाकछोप गर्नुपरेको र त्यो ढाकछोपले आफ्नै इमेज बिग्रिएको समेत बताएका थिए । ‘मन्त्री हुनुको नाताले तपाईंका कामको प्रतिरक्षा गर्न तयार छु तर जे जसरी काम भइरहेको छ यसको परिणाम चाहिं राम्रो हुँदैन कि’ उनले भने ।
स्रोतको दाबी अनुसार मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको बचाउमा बोल्दा बोल्दा आफ्नै छबी बिग्रिएको निष्कर्षमा पुगेका छन् ।पछिल्लो समय भट्टराईले ओलीका हरेक विवादित भाषण र ओलीले गरेका हरेक विवादित कामबारे प्रतिरक्षा गर्दै आइरहेका थिए । कहिले ट्वीटरबाट त कहिले संसदबाट नै उनले प्रधानमन्त्री माथि चौतर्फी आक्रमण भएको बताउने गरेका थिए ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको बेसार काण्डको बचाउ गरेका थिए त्यसपछि उनले स्थायी कमिटि बैठकमा उपस्थित नभएको बिषयमा बचाउ गरेका थिए । हिमाल पोष्ट