कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७र/७८ का लागि पहिलो चरणको बजेट छलफल सम्पन्न गरेको छ ।अर्थमन्त्रालयले पठाएको प्रारम्भिक बजेट सिलिङमा टेकेर मन्त्रालयको सबै आयोजना तथा कार्यक्रमको आगामी प्राथमिकताको सूचीकरण थालिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए ।
मातहतका निकायसँग मन्त्रालयले एक चरणको छलफल सम्पन्न गरेको उनले बताए । ‘पहिलो चरणको छलफल सकेका छौँ, प्राथमिकता तोकेर बजेटको मागचाहिँ अझै भएको छैन,’ उनले भने ।मन्त्रालयले लकडाउन अघि र त्यसपछि सबै विभाग, कार्यक्रम, परियोजना तथा कार्यालयहरुबाट वाषिर्क योजना माग गरेको थियो । ती योजनाहरुमा भएको प्रारम्भिक छलफलपछि नयाँ कार्यक्रम र आवश्यक बजेट सम्बन्धमा प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।
लकडाउनको सुरुआती चरणमा मन्त्रालयमा आउने कर्मचारी संख्या घटाइए पनि बजेट छलफल तथा कार्यक्रमका लागि अहिले जनशक्ति बढाइएको पनि प्रवक्ता केसीले बताए ।मन्त्रालयको नियमित प्रशासनिक खर्चबाहेक रसायनिक मल, बाली तथा पशुपंक्षी बीमा कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विकास आयोजना लगायतका करिब एक दर्जन बढी आयोजना र कार्यक्रमको बजेट र प्राथमिकतामा छलफल गर्दै छ । यसअघि मन्त्रालयले फागुन अन्तिम साता सातै प्रदेशका कृषि मन्त्रीहरुसँग प्रिबजेट छलफल सकेको थियो ।
अर्थ मन्त्रालयले लकडाउन अघि ३३ अर्ब १८ करोडको प्रारम्भिक बजेट सिलिङ पठाएको थियो । कोरोनाका कारण कृषि क्षेत्रको प्राथमिकता फेरिन सक्ने भएकाले कार्यक्रमहरु पनि प्रभावित हुन्छन् भन्नेमा आशंका उत्पन्न भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले ३४अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । अनलाइखबर