प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार पनि देशका विभिन्न स्थानमा विरोधका कार्यक्रम भएका छन् । नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध सभाको आयोजना गरेको थियो भने नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अभिव्यक्ति दिएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरिसकेको छ ।
ओली हारिसकेका छन् : प्रचण्ड
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको बाटो पक्डिएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली हारिसकेको बताएका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले विगतमा राजा महाराजाहरूले जस्तै ओलीले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर सर्वसाधारण भेला गरेको टिप्पणी गरे । अहिले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै उनले आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति ओलीको विरुद्धमा रहेको उल्लेख गरे ।
सेटिङ जान्दैनौं, संसद पुनर्वहाली नभइ मान्दैनौं : कृष्णप्रसाद सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूले गरेका गलत कदमको आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । कांग्रेसले सोमबार झापामा गरेको विरोध सभामा नेता सिटौलाले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला अदालतलाई प्रभावमा पार्न र धम्क्याउने काम बन्द गर्न पनि ओलीलाई चेतावनी दिए । ‘मान्छे भन्छन्, प्रधानमन्त्री र अदालतको न्यायाधीशहरूसंग सेटिङ छ,’ सिटौलाले भने, ‘सेटिङ हामी जान्दैनौं संसद पुनर्वहाली नभइ मान्दैनौं।’
तानाशाही शासन लम्बाउन चुनावको घोषणा : प्रकाशमान सिंह
नेपाली कांग्रेसले कास्कीमा गरेको विरोध सभामा नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले आफ्नो तानशाही शासन लम्ब्याउनका लागि निर्वाचनको घोषणा गरेको बताएका छन् । शासन सत्ता लम्ब्याउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेको नेता सिंहको भनाई छ । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे ।
अदालतले केवल संविधान हेरोस्ः गगन थापा
कांग्रेसले गरेको चितवनको विरोध सभामा नेता गगनकुमार थापाले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले अदालतमा ‘सेटिङ’ संभव नभएको दिन सक्नुपर्ने बताएका छन्। नेता थापाले अदालतले प्रधानमन्त्री वा आफू कसैको पनि सुन्न नहुने भन्दै केवल संविधानमात्रै हेर्नुपर्ने बताए । प्रधानमन्त्रीले अदालतमा सबै मिलाइसकेको सन्देश दिएको भन्दै थापाले भने, ‘अदालतले देखाइदेओस्, तपाईले राष्ट्रपति मिलाएको जस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनोस् ।’