प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध देशभर संघर्ष जारी छ । यसक्रममा सोमबार गरिएका विभिन्न कार्यक्रममा आन्दोलनरत दलका नेताहरुले चर्को अभिव्यक्ति दिएका छन् ।
कांग्रेस एकढिक्का भएर लाग्नुपर्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको विरोधमा कांग्रेस एकढिक्का भएर लाग्ने बताएका छन् । सोमबार कांग्रेसका विभिन्न भातृ संस्थाले तनहुँमा गरेको सभामा नेता पौडेलले लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै यसको विरोधमा एकजुट हुन पार्टीका नेताहरुलाई आह्वान् समेत गरे । अदालतमाथि अफ्नो विश्वास रहेको उनको भनाई छ । ‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक संघर्षमा पुगेको छैन, हामी निर्णायक संघर्षमा पुग्न नपरोस् ।’ उनले भने, ‘अदालतप्रति आशा र विश्वास छ ।’
सभामुख अल्पमत सरकारको लाचार छायाँ : अष्टलक्ष्मी शाक्य
नेकपा (प्रचण्ड–नेपाल समूह) की नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सभाका सभामुख अल्पमत सरकारको लाचार छायाँ बन्न पुगेको टिप्पणी गरेकी छिन् । प्रदेश सभाको सोमबारको बैठक अकस्मात स्थगित गरिएकोमा विज्ञप्तिमार्फत आपत्ति जनाउदै नेता शाक्यले यस्तो टिप्पणी गरेकी हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडलविरुद्ध प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले ९ माघमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनका लागि नभएको जिकिर गरेका छन् । सोमबार राष्ट्रिय जनमोर्चाद्धारा काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष केसीले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा रहेको चेतावनी दिए । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भएमा विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाइ छ ।
हिजो संविधान जलायौँ, आज रक्षाका निम्ति उभिन्छौँः उपेन्द्र यादव
राष्ट्रिय जनमोर्चाले गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरुले संविधानको विरोधमा संविधान जलाएको भएपनि आज संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको बताए । संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीकै प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको उनको भनाई छ ।