पछिल्लो पटक सार्वजनिक गरिएका विवरणमा रूपन्देही र कपिलवस्तु जिल्लामा थप १७ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको जनाइएको छ।
प्रदेश नं ५ का स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोदकुमार गिरीका अनुसार रुपन्देहीमा देखिएका ९ जना सङ्क्रमित लुम्बिनीस्थित लुम्बिनी विश्वविद्यालयमा बनाइएको क्वारन्टीनमा बस्दै आएका थिए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उनीहरू सबैजना केही दिनअघि मात्र भारतबाट नेपाल आएका थिए।यस्तै कपिलवस्तुमा सङ्क्रमणको पुष्टि भएका आठ जना स्थानीय विद्यालयमा बनाइएका तीनवटा क्वारन्टीनमा बस्दै आएका थिए।
भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।सोमवार २४ जनामा कोभिड-१९ पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलवार अपराह्णसम्म नेपालमा कुल १७,८७८ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने १५३ जना आइसोलेसनमा छन्। स्विस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोगस्वरूप दिएसँगै परीक्षणले तीव्रता पाएको छ।
सङ्क्रमण कुन जिल्लामा कति सङ्क्रमित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या यस्तो छ-
पर्सा ६४
उदयपुर ३२
कपिलवस्तु २९
बाँके २४
रूपन्देही १६
कैलाली ४
काठमाण्डू ३
रौतहट ३
बारा ३
बाग्लुङ २
चितवन २
झापा २
बर्दिया १
भोजपुर १
कञ्चनपुर १
सप्तरी १
धनुषा १
धादिङ १
सर्लाही १
अहिलेसम्म ३३ जना निको भएर अस्पतालबाट बिदा भएको बताइएको छ।तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ।