बर्षौंबर्ष शारीरिक र मानसिक अवस्था कमजोर झेलेपछि ७३ वर्षमा उसको अर्थात् नाटोको निधन भयो। सन् १९४९ को अप्रिल ४ मा अमेरिकी पिता र युरोपेली आमाबाट जन्मिएको सन्तान हो नाटो। जन्मिनु एक वर्षअघि नै त्यसको अवधारणाको गर्भाधान भएको थियो। दसकौँ पछि नाटो एउटा ठूलो परिवार बन्यो। अहिले नाटोकै सन्तान ३० फरक देशमा फैलिएका छन्।
दोस्रो विश्वयुद्धमा प्रेममा परेका आमाबुबाले उसको नाम उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) जुराए। यो नाममा आमाबुबाका महत्वाकांक्षा पनि लुकेको छ। यद्यपि, आज नाटो स्वयंकै यति धेरै सन्तान बनाइसक्दा पनि उसका आमाबुबाको सपना पूरा हुन्छ कि हुँदैन, त्यसको भने कुनै टुङ्गो छैन।
‘रक्षात्मक मोर्चा’का रूपमा उसको दिनचर्या निकै उत्साहका साथ सुरु भएको थियो। तर, सुरु सुरुका दिनमा उसले ‘सर्वसाधारणालाई खतरा रहेको’ भन्दै गरेका युद्धहरू अनावश्यक र आधारहिन भएको अहिले क्रमशः पुष्टि हुँदै गएको छ। खासमा शीतयुद्ध कहिल्यै पनि ‘गरम’ युद्ध भएन । त्यसको कुनै प्रयोजन सिद्ध नै भएन। र, नाटो मानसिक रोगबाट पिरोलियो, उसलाई मानसिक दीर्घरोगले च्याप्यो। उसले चिताएजस्तो विध्वंस किन भएन भन्ने कुरा नबुझेर ऊ बहुलाझैँ भयो। नाटोको यस्तो अवस्था उसलाई जन्माउने आमाबुबाको निम्ति निकै दुःखको विषय बन्यो। तरपनि उनीहरूले आफ्नो बिग्रेको र बरालिएको सन्तानका रहरहरू पूरा गर्न खोजिरहे।
उमेर बढ्दै जाँदा नाटोलाई पनि मध्यजीवनका सङ्कटले च्याप्न थाल्यो। त्यसो हुँदाहुँदै पनि उसले संसारको प्रहरीको रूपमा आफ्नो उपादेयता पुष्टि गर्न खोजिरह्यो। उसले आफूमाथि संकट व्यवस्थापनको हवाला दिँदै उसले नयाँ–नयाँ घोषणा गर्दै हिँड्यो। त्यही क्रममा उ अफगानिस्तानमा केही समयको लागि बिदा मनाउन हिँडेको थियो तर त्यहीँ उसको बसाइ बीस वर्ष लम्बियो।
जब नाटोले अफगानिस्तान छाड्यो, उसको अवस्था पहिलेभन्दा थप खराब भइसकेको थियो। नाटोको अरू पारिवारिक झैझगडा पनि भएः नाटोको सदस्य रहेको टर्की स्वयं अर्को नाटो सदस्य संयुक्त राज्य अमेरिकाले सिर्जना गरेको सङ्कटको कारण, युरोपको सुरक्षाको निम्ति ‘खतरा’ भएपछि फेरि नाटोकै भलाइको लागि सिरियामाथि युद्ध थोपरियो।
राम्रो मनसायबाट सुरु भएको नाटोको आफ्नै मर्जीको सुरक्षा बलले करीब ६० करोड जनतालाई दुःख दियो। यससँगै उ आफैँलाई मानसिक रोग लाग्यो। ‘म आफूमात्रै ठूलो हुँ’ भन्ने रोग पनि उसलाई लागेको थियो। अनेक रोगहरूको आक्रमणपछि उसलाई दीर्घ रोग लाग्यो। धेरैधेरै देशमा ऊ सुन्निँदै गयो। ऊ क्रमशः रिसाहा बन्दै गयो। कहिलेकाहीँ ऊ आफ्नो छरछिमेकबाट धेरै टाढाजस्तै लिबियामा समेत हिंसा फैलिनुको कारण बन्यो। परिवारका केही सदस्य र आफन्तले नाटोलाई ‘आफ्नो स्वास्थ्यबारे सजग रहु’ भन्दै सजग गराउन खोजेका थिए।
जस्तैः फ्रान्सले नाटोलाई सजग गराएको थियो। फ्रान्सले सबैभन्दा पहिला नाटोको ‘मस्तिष्कघात’ भएको कुरा पत्ता लगाएको थियो। यो रोग पहिचान सही प्रमाणित समेत भएको थियो। तर नाटो आज त्यो बिन्दुमा पुगेको छ, जुन बिन्दुबाट अब ऊ चाहेर पनि फर्कन सक्दैन। विस्तार हुने नाटोको उत्साह बुबाले उसलाई सिकाएको खराब बानी थियो। वासिङ्टनको सिनेटका अल्पज्ञानी सदस्यहरूले नयाँ सदस्यता प्राप्त गर्न उसलाई मद्दत गरे।
वास्तवमा कुनै पनि सङ्कट व्यवस्थापन गर्नुभन्दा उसको विस्तार हुने त्यो चाहना र खराब लतले विश्वमा थप सङ्कट निम्त्याइरहेको छ। यसको सबभन्दा पछिल्लो उदाहरण त युक्रेनको सङ्कट नै हो। नाटोको थप पूर्वतिर विस्तार हुने चाहनाले रुससँगको द्वन्द्वमा मद्धत पुर्यायो। उसो त नाटोलाई धेरै वर्ष पहिलेदेखि नै उसको खराब बानीले एकदिन उसैलाई समस्यामा पार्ने चेतावनी दिइएको थियो। तर, उसले आफ्नो आदत त्याग्न सकेन। आमाबुबाको लाडप्यारले उसलाई झनै कुलततिर हिँडाडो। र, त्यसको कुनै औषधि नै थिएन। कुलतमा फसेकाहरू आफैँ सम्हालिए मात्र कुलतबाट मुक्त हुन सक्छन्। तर, नाटोको सन्दर्भमा त्यस्तो कहिल्यै भएन।
केही समय नाटोले आफूमाथि लागेका आरोपहरूलाई स्विकार्न चाहेन र धेरैजसो कुलतमा परेका व्यक्तिहरूझैँ उसले पनि झूटो बोल्यो। लिखित दस्तावेज नभएपनि नाटोले रुसलाई पूर्वतिर विस्तार हुने आफ्नो कुनै मनसाय नभएको बताउँदै अल्मल्याइरह्यो। एक इन्च पनि पूर्वतिर नबढ्ने बताइरह्यो। तर त्यो वचनमा अडिग रहन नसक्दाको परिणाम अहिले युक्रेनमा देखिँदै छ ।
यस्तो अवस्थामा नाटोको मृत्युको कारण ठ्याक्कै के हो भन्ने कुराको घोषणा हुन भने अझै बाँकी छ। तर यसको असान्दर्भिकता र दुरूपयोगको कारण नाटोको स्वास्थ्यमा धेरै जटिलता आएको हो भन्ने बुझ्न सकिन्छ। नाटो सुरुमा प्रतिरक्षात्मक मोर्चाको रूपमा स्थापना भएको थियो, त्यसपछि ‘सङ्कटमोचन’ सङ्गठनको रूपमा। तर, उसको उद्देश्य संसारमा अमेरिकी प्रभुत्ववाद कायम राख्ने हतियारको रूपमा प्रयोग हुनु नै थियो। र, नाटो अमेरिकाको एउटा हतियारसिवाय केही होइन पनि। शान्ति वा स्थायित्व ल्याउने नाटोको कुनै लक्ष्य पनि थिएन, छैन। उसको उद्देश्य अमेरिकी विदेश नीति लागु गर्नु हो, जसको शान्ति र स्थायित्वसँग कुनै लेनदेन छैन। अवस्थाको वास्तविकता बुझ्न नसक्दा नाटोले आफू मरिसकेको छु भन्ने समेत थाहा नपाउन सक्छ। एउटा भनाई छ नि, ‘ऊ मरिसकेको छ तरैपनि ढल्न तयार छैन।’
ग्लोबल टाइम्सबाट। (लेखक मार्क व्याकलक बेलायतका पत्रकार र लेक्चरर हुनुहुन्छ ।)