‘पछिल्ला सात दिनमा नयाँ संक्रमण भेटिएको छैन’

सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए। उनले प्रत्येक दिन सातरआठ सय भन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको बताए।

यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमाडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उनले बताए। प्रवक्रा देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताए।अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उनले जानकारी दिए। क्वारेन्टाइनमा बसेका सबैको र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको छ। अहिलेसम्म आइसोलेसनमा ८२ जना छन्।

प्रवक्ता देवकोटाले तीन दिनयता र्‍यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताए। उनले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिन भन्दा बढी भएको अवस्थमा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताए। यस्तै ७७ वटै जिल्लामा र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए। यस्तै सरकारले सञ्चालन गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ३ हजार ४० जनाको जिज्ञासाको सम्बोधन भएको उनले बताए। चौबिस घण्टामा ५ जना रेड जोनमा परेको र अहिलेसम्म १ सय ८९ जना रेड जोनमा रहेको पनि देवकोटाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया