नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले अब नेकपाले जनवादी कार्यदिशा हैन समाजवादी कार्यदिशा अवलम्बन गर्नुपर्ने बताएका छन् । ‘स्कूल अफ माक्ससिजम’ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले माक्र्स, लेनिनकालीन पुँजीवादी जनवादी क्रान्ति जस्तो पुँजीपतिको नेतृत्वमा नभएपनि विभिन्न चरणका नेपाली क्रान्तिहरुको समुच्चयमा नेपालमा आफ्नै प्रकारको जनवादी क्रान्ति भएको बताएका छन् ।
अब नेपालमा आधारभूत रुपले जनवादी क्रान्ति सम्पन्न भएको हुनाले नेपालको कम्युनिस्ट आन्दोलनले फेरि जनवादी कार्यदिशा अँगाल्नु उचित नभएको भन्दै उनले समाजवादका विभिन्न चरणबारे बहस हुनसक्ने भएपनि त्यो कार्यनीतिक पक्ष भएको तर रणनीतिक रुपले अब नेकपा समाजवादी कार्यदिशामा अघि बढ्नुपर्ने बताएका हुन् । नेकपाको आगामी चैत्रमा महाधिवेशनमा नेकपाभित्र पार्टी एकताकोताका भनिएको ‘जनताको जनवाद’ पार्टीको कार्यदिशा हुने भनिएको छ भने नेकपाभित्रको ओली खेमाले ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी कार्यदिशाको रुपमा ब्युँताउन क्रियाशील भइरहेको अवस्थामा नेकपाका शालीन र वैचारिक नेता ज्ञवालीले अब जनताको जनवाद वा जनताको बहुदलीय जनवाद हैन अब समाजवादको कार्यदिशा अवलम्बन गर्नुपर्ने बताएका हुन् ।
उनले आजको नेपाली समाजको प्रमुख अन्तरविरोधको रुपमा दलाल पूँजीवाद रहेको हुँदा उक्त दलाल पुँजीवाद विरुद्ध समाजवादी कार्यदिशा अनुरुप पार्टी संगठन र आम नेता–कार्यकर्ता परिचालित हुनुपर्ने बताउँदै तत्कालै समाजवादी कार्यक्रम लागू गर्न सम्भव नभएपनि हाललाई अनुत्पादक दलाल पुँजीलाई नियन्त्रण गर्दै उत्पादनशील राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने कुरालाई औंल्याएका हुन् । यसका लागि उनले शिक्षा, स्वास्थ्य, रोजगारी/उद्यममा राज्यले क्रमशः सरकारीकरणतर्फ अघि बढाउनुपर्ने बताएका हुन् । हाल शिक्षामा भइरहेको चरम नीजिकरणलाई नियन्त्रण गर्दै सार्वजानिक शिक्षालाई प्रोत्साहन र हस्तक्षेपपूर्ण ढंगले राज्य अघि बढाउनुपर्ने भन्दै सरकारले स्वास्थ्यमा पनि सरकारी अस्पताल र स्थानीय तहका प्राथमिक स्वास्थ्य चौकीहरुलाई स्रोतसाधन युक्त बनाउन स्थानीय सरकारहरु अग्रसर हुनुपर्ने कुरालाई ज्ञवालीले जोड दिएका छन् ।
नेपालको उत्पादनशील श्रमशक्ति विदेशिने क्रमले नेपाललाई झन् जर्जर बनाइरहेको अवस्थामा राज्यले युवा रोजगारी र उद्यममा विशेष प्राथमिकताका साथ योजना र कार्यान्वयनमा जोड दिएमात्र समाजवादको आधार तय हुने भन्दै दलाल पुँजीवादले ध्वस्त पारेको उत्पादक शक्तिको विकासमा ध्यान दिनुपर्ने कुरालाई जोड दिदैँ यसको लागि पार्टी र सरकारको नेतृत्वको हालको कार्यशैली फेरिनुपर्ने नत्र कम्युनिस्ट आन्दोलन विघटनको बाटोमा पुग्ने खतरालाई समेत उनले बताए । यदि नेतृत्व नसच्चिए नेतृत्व फेरेरै भएपनि कम्युनिष्ट आन्दोलन विघटनबाट बचाउनुपर्ने कुरालाई समेत उनले विशेष जोडका साथ बताएका छन् ।
https://www.facebook.com/nepalreaders/posts/1664338877072436