नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले पार्टीमा गुटबन्दी सुरु गरेको बताएका छन्। मदन भण्डारी फाउन्डेसन खोलेर अध्यक्ष ओलीले पार्टीमा गुट सुरु गरेको खनालको भनाई छ।
नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता खनालले ओलीले आसेपासे र धुपौरेलाई च्यापेर गुटबन्दी गरिरहेको बताए। ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए।
२८ फागुनमा बालुवाटारमा गुट बैठक राखेर ओलीले गरेका निर्णय पार्टी विधान अनुरूप नभएको उनले बताए। खनालले पार्टीलाई विभाजन, विघटन तर्फ लाने ओलीको दुष्प्रयासविरुद्ध कार्यकर्ता भेलाको आयोजना गरेको बताए।
उनले पार्टी एकताको बाधक नै ओली भएको आरोप पनि लगाए। ३ वर्षसम्म ओलीको एकलौटी सहेर बसेको भन्दै उनले भेलाको निष्कर्ष अनुसार अगाडि बढ्ने बताए।
ukeraa.com