मदन भण्डारी फाउन्डेसनका नाममा ओली समूह सक्रिय, काठमाडौंमा नगरैपिच्छे भेला

गत पुस १३ गतेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमले तयार पारेको संगठनात्मक कार्ययोजना पारित गरी २०७६ चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरणको काम सक्न मातहतका कमिटीमा सर्कुलर गर्‍यो । परिपत्र नै पठायो ।

संगठनको निर्देशन–सर्कुलर अनुसार काठमाडौं जिल्ला कमिटीले गर्नुपर्ने संगठनात्मक काम गर्न सकेको छैन । जिल्ला कमिटीको पाँच सदस्यीय कार्यालयका सदस्य महेश्वर फुयाल पार्टीको संगठनात्मक काम ठप्प रहेको बताउँछन् । माथिल्लो कमिटीको निर्देशनअनुसार हुनुपर्ने सदस्यता एकीकृत र नवीकरणको काम अघि बढ्नै सकेको छैन ।

तर, पार्टीको जिल्ला नेतृत्व मदन भण्डारी फाउन्डेसनका नाममा सक्रिय रहेको उनी बताउँछन् । समानान्तर गतिविधि गरिरहेको फुयालको भनाइ छ ।

“जिल्ला संयोजकको जिम्मेवारीमा रहेका कृष्ण राईले पार्टीको काममा ध्यान दिनुभएको छैन । पार्टीमा कार्यविभाजन गरौं, सांगठनिक गतिविधिमा ध्यान दिऊँ भन्दा कुनै वास्ता गर्नुहुन्न,” फुयालले भने, “पार्टी एकताका महत्त्वपूर्ण कामलाई अलपत्र छाडेर, पार्टी संगठनलाई कोमामा थन्क्याएर उहाँ फाउन्डेसनमा सक्रिय हुनुभएको छ । उहाँ नेकपाको जिल्ला कमिटीको नेतृत्व होइन, फाउन्डेसनको अध्यक्षबनेर हिँड्नुभएको छ ।”

उनका अनुसार काठमाडौं जिल्लामा मदन भण्डारी फाउन्डेसन सक्रिय बनेको छ । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिको सन्दर्भ पारेर गतिविधि गरिरहेको छ ।

छ । गत साउन ११ गते मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहले काभ्रेमा जिल्ला भेलाको आयोजना गरेको थियो । कोरोनाको कहरबीच चार–पाँच सय मानिस भेला गरेर नयाँ जिल्ला नेतृत्वसमेत चयन गरेको थियो ।

अहिले त्यही प्रकृतिको कार्यक्रम काठमाडौंमा भइरहेको छ । उपत्यका बाहिरका जिल्लामा पनि फाउन्डेसनको गतिविधि ह्वात्तै बढ्न थालेको नेकपाका नेताहरू बताउँछन् । पार्टीभित्रको अन्तरविरोध चर्किइहेका बेला ओली समूहले फाउन्डेसनलाई विचार प्रवाह गर्ने थलो बनाएको उनीहरूको ठहर छ । बुधबार काठमाडौं जिल्ला कमिटीका संयोजक राईको अगुवाइमा जोरपाटीमा त्यस्तै भेलाको तयारी भइरहेको छ । पूर्वी क्षेत्रको गोकर्णेश्वर, कागेश्वर मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर एकै ठाउँमा भेलाको तयारी भइरहेको फुयालले बताए ।

भेलामा परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल जाने तयारी भइरहेको फुयालको दाबी छ । ज्ञवाली काभ्रेको भेलामा पनि सम्बोधन गर्न पुगेका थिए ।

“बुधबार जोरपाटीको वागमती किनामा शङ्करापुर, कागेश्वरी मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर समानान्तर भेला आयोजना गर्न लागेको भन्ने सुनेका छौं । अरू नगरमा उपस्थिति फितलो बनेपछि जोरपाटीका तीन नगरका कार्यकर्तालाई एउटै हलमा उपस्थित गराउन लागेको बुझेका छौं । भेलामा ओली गुटबाहेक अरूलाई खबर छैन,” उनी भन्छन् ।

फाउन्डेसनले काठमाडौं क्षेत्रका सबैजसो स्थानीय तहमा भेला, अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । साउन ७ गते बूढानीलकण्ठ नगरपालिकामा फाउन्डेसनले वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । चन्द्रागिरि नगरपालिकामा साउन ११ गते भेला र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको त्यहाँको नगर कमिटीले जानकारी दियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, नेकपाका जिल्ला अध्यक्ष कृष्ण राई उपस्थित थिए । त्यहाँ पनि इतरसमूहलाई खबर नै नगरिएको जिल्ला तहका नेता बताउँछन् ।

साउन १७ गते टोखाले त्यस्तै प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो । नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीकरण विषय विचार गोष्ठी भनिए पनि कार्यक्रममा सरकार र पार्टी नेतृत्वको प्रतिरक्षा र बचाउ गरेको सहभागीहरू बताउँछन् । कार्यक्रममा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित ओली पक्षका नेतामात्रै सहभागी थिए । अर्को पक्षलाई त्यहाँ पनि बेवास्ता गरियो ।

कीर्तिपुर नगरपालिकामा पनि फाउन्डेसनका नाममा ओली समूहले समानान्तर कार्यक्रम आयोजना गरिसकेको छ । साउन २३ गते कीर्तिपुर नगरपालिकामा पनि टोखा नगरपालिकाकै शीर्षकमा विचार–विमर्श गरिएको थियो । त्यहाँ पनि केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र काठमाडौंका जिल्ला संयोजक राई उपस्थित थिए । पूर्वमाओवादी केन्द्र समूहका अञ्जना विशङ्खेलाई निम्त्याइएको थियो ।

साउन २३ गते नै तारकेश्वर नगरपालिकामा पनि फाउन्डेसनको ब्यानरमा कार्यक्रम आयोजना भएको थियो । त्यहाँचाहिँ भिन्न प्रकृतिको, पत्रकारिता तालिम आयोजना भएको र टोखा र बुढानीलकण्ठ नगरपालिकालाई पनि समावेश गराइएको नेकपाका जिल्ला तहका नेता बताउँछन् ।

नागार्जुन नगरपालिकामा पनि त्यस्तै प्रकृतिको कार्यक्रम सकिइसकेको छ । साउन २४ गते नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक विचार गोष्ठीका शीर्षकमा विचार मन्थन गरिएको त्यहाँको नगर कमिटीले जानकारी दियो । नागार्जुनमा पनि कृष्णगोपाल श्रेष्ठ र राजन भट्टराई नै विचार प्रस्तुतिका लागि पुगेको थिए ।
“अहिले काठमाडौं जिल्ला संयोजक राई, केन्द्रीय सदस्यद्वय कृष्णगोपाल, राजभन भट्टराईलगायत नेताहरू फाउन्डेसनलाई सक्रिय बनाउन लागि पर्नुभएको छ,” फुयाल भन्छन् ।

फाउन्डेसनको काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला छन् । काठमाडौं–५ को प्रदेशसभा सदस्य रहेका उनी नेकपाको जिल्ला कमिटीको सचिवालय सदस्य पनि हुन् । केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर ओली समूहको यो समानान्तर गतिविध टिप्पणी गर्न लायक नै नरहेको बताउँछन् । पार्टीको नेतृत्वमै रहेकाहरू समानान्तर गतिविधि गरिरहेको र गुटगत क्रियाकलामा सक्रिय रहेकाले टिप्पणीका लागि अयोग्य रहेको उनको निष्कर्ष छ । बाह्रखरी

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here