नेकपा (एमाले) ले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेकोमा अध्यक्ष केपी शर्मा ओली समूहले भने त्यसको विरोध गरेको छ। प्रधानमन्त्री ओलीले मंगलबार विहान प्रधानमन्त्री कार्यालयमा गरेको चियापान कार्यक्रमबाटै कार्यकर्ता भेला रोक्न आग्रह गरेका हुन् । भेला नरोके अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ओलीले।
ओलीकै कारण एमाले पार्टी संकटमा परेको भन्दै इतर पक्षले भेला आयोजना गर्न लागेको हो । र, तर भेलामा ओलीलाई पनि निम्तो दिइएको छ । मंगलबार दिउँसो २ बजे हेरिटेज् गार्डेन होटल, सानेपामा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीलाई नै भेलाको उद्घाटन गर्न आग्रह गरिएको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘ओलीले आफूहरुको भेला र कार्यकर्तामाथि नजर राखेको बताउनुभएको छ । तर हामी ओलीलाई नै भेलाको उद्घाटन गर्न निम्तो दिन्छौं।’
नेता भट्टराईले आवेग र उत्तेजनाले दुर्घटना हुन सक्ने भन्दै संयम हुन ओलीलाई आग्रह गरे। बुद्धको देशमा शान्तिको भाषा हुनुपर्नेमा बालुवाटारको भाषा शक्ति केन्द्रीत भएको उनले आरोप समेत लगाए । भटराईले कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै ओलीले नै गुटका गतिविधि र पार्टी विभाजन गर्ने प्रयास गरिरहेको बताए । भोलिको कार्यकर्ता भेलामा दुई हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने जनाएको छ।