कोरोना संक्रमित शून्य नभई वा खोप नलगाई स्कूल खोल्नु असम्भव कुरा हो। तथापी नेपालका नीजि विद्यालयका सञ्चालकहरुको दवाव सरकारले थेग्न नसक्ने बुझिएको छ। यसैबीच असार १ बाट शैक्षिक सत्र खुला हुने समाचार आएको थियो। शिक्षामत्नीले स्कूल नखोल्ने सूचना जारी गरेका छन्।
सो सूचनामा स्कूल नखुल्ने भनिएपनि शैक्षिक शत्र नखुल्ने कुरा स्पष्ट गरिएको छैन। सुचनाको अन्तरबोलीले निजी स्कूलका संचालकहरुबाट स्कुल खोल्ने सम्भावना संकेत देखा परेको छ। यदि स्कूल खोली हालेपनि शिक्षा मन्त्रालयले निजी क्षेत्रलाई कुनै कारबाही गर्न नसक्ने हालैको बजेटमा उनीहरुका नाजायज मागलाई सरकारको अदृश्य भारदारले सम्वोधन गरेकाले नै स्पष्ट हुन्छ। स्मरण रहोस्, निजी क्षेत्रले कुनै एक सार्वजनिक स्कूल संचालन गर्न माग गरेको कुरा शिक्षा मन्त्रालयलाई थाहा नदिइ सरकारका अदृश्य भारदारमात्र बजेटमा राखिएको कुरा खुल्न आएको छ। यसकारण हालको सरकारको मति र गति हेर्दा निजी स्कूलका संचालकहरुले असार १ बाट स्कूल नचलाउलान् भन्ने कुनै आधार नै देखिदैन।
तर अभिभावकहरुले ‘असार १ त के आउने मङसिरसम्म पनि स्कूल संचालन गर्नु आगोसँग खेल्नु जस्तो हो ‘ भनिरहेका छन्। उनीहरुका अनुसार संक्रमित शून्य नभई नानीहरुलाई स्कुलमा पठाउनु संक्रमण फैलाउने एजेन्ट तयार गर्नु हो। यी एजेन्टहरुले घरभित्र उच्च जोखिममा रहेका बृद्धहरुलाई संक्रमण गराउन सक्छन्। काखमा बच्चा खेलाउने हरकोहीलाई थाहा छ– स्कूले उमेरका नानीहरु हजुरमा र बाका आँखाका तारा हुन्।
एक अभिभावकले नेपाल रिडर्सलाई भने- ‘यी साउँ होइनन्, व्याज हुन् हजुरमा र बाका। शहरमा नानीलाई स्कूल बस चढाउने र ओराल्ने हजुरमा र बा नै हुन्। गाउँमा बाख्रालाई सेउला र कुखुरालाई चारो हाल्ने हजुरमा र बाका सहयोद्धा हुन् यी नानीहरु। यी नानीहरु हजुरमा र बाका काखमा बस्छन् लुटपुटिन्छन् चुम्मा गर्छन्। कथंकदाचित स्कूलबाट संक्रमित भए भने के हुन्छ?’ उनले प्रश्न गरे।
न
अर्का अभिभावकले भने – ‘यो वर्षको शैक्षिक सत्र खेरा जाओस्। यस शैक्षिक सत्रमा यिनीहरुले घर पढ्ने छन्, टोल पढ्नेछन् गाउँ पढ्नेछन् चाढबाड आउँदैछन् ती पढ्नेछन्। हजुरमा र बाबाट दन्त्यकथा र उहिले बाजेका पालाका कुरा सुन्नेछन् सिक्नेछन्। यहीबारे मङसिरमा खुला प्रश्न गरियोस् र उनीहरुको तिक्ष्णताको जाँच गरियोस्’ उनले सुझाए।
कुरा स्पष्ट छ- दिल र दिमाग भएका अभिभावकहरुले पक्कै बच्चाहरुलाई पठाउने छैनन् किनकि नेपालमा एकल बच्चा हुने बहुसंख्यक छन्। भएको एउटा बच्चालाई केही गरी संक्रमण भइहाले के हुन्छ? सरकार गम्भीर हुनै पर्छ।