भारतीय अर्थव्यवस्था पछिल्लो ७० वर्ष यता कै खराब हालतबाट गुज्रिरहेको रिपोर्टहरु आइरहेका छन्। मोदी हिन्दु भीरुताले उत्पादन गरेको सामाजिक, आर्थिक दुष्परिणामहरुको परिणतिको रुपमा भारतीय समाज, अर्थव्यवस्था लगभग तहसनहसको अवस्थामा पुगेको सूचनाहरु आइरहेका छन्। ठीक यही बेला, मोदी सरकार भने कहिले काश्मीर काण्ड घटाउनमा तल्लीन हुन्छ भने हाल पी चितम्बरम काण्डको नक्कली नाटक मञ्चन गरेर बिकाउ मिडिया मार्फत आम जनताको ध्यान मोड्न खोजिरहेको देखिन्छ।
हाल, भारतीय कँग्रेसको केन्द्रीय नेता, पूर्व गृह तथा अर्थ मन्त्री पी चितम्बरमलाई आईएनएक्स मिडिया काण्डमा दोषी देखाउँदै भारतीय जाँच एजेन्सी मार्फत गिरफ्तार गराएर यसरी शोरगुल मच्चाइएको छ, मानौं मोदी सरकारले यस्तो अपराधीलाई समातेको छ, जसले समग्र भारतीय ढुकुटीको हण्डी कब्जा गरेको थियो। मानौ कि अपराधीलाई समातेपछि ढुकुटीको हण्डी फिर्ता हुनेछ र भारतमा तत्काल खुसहाल भैहाल्नेछ। वा, यस्तो अपराधीलाई दण्ड दिलाउनु नै हाल सरकारको एकमात्र मुख्य उद्देश्य र सफलता हो, जुन पहिल्यै किटान गरिएको थियो।
अघिल्लो कार्यकालको रक्षामन्त्री निर्मला सीतारमणलाई हालको क्याबिनेटमा डमी अर्थमन्त्रीको रुपमा उभ्याइएको छ। हुन त, निर्मलाको शैक्षिक पृष्ठभूमि अर्थशास्त्र रहेतापनि अतिवादको भूत सवार सँस्थाभित्र एक व्यक्तिको पहलकदमी नगण्य हुनजान्छ। भारतीय रिजर्भ बैंकको गर्भनरबाट रघुराम राजनलाई हटाएपछि मोदी सरकारको भारतीय अर्थव्यवस्थामाथि बेलगाम दोहन यात्रा तेजगतिमा अघि बढिरहेको छ भने निर्मलाले उक्त गतिमा स्पिडब्रेकरको भूमिका खेल्न बिल्कुल असमर्थ हुनु सामान्य कुरा हुने नै भयो।
कतिपय भारतीय मिडियामा १४ वर्ष पुरानो शोहराबुद्धिन शेखको नक्कली इन्काउन्टर केसमा तत्कालीन केन्द्रीय गृहमन्त्री रहेका पी चितम्बरमले तत्कालीन गुजरातका गृहराज्यमन्त्री रहेका अमित शाहलाई फसाएको रिसइबी साँध्न हालका गृहमन्त्री रहेका शाहले चितम्बरममाथि यो मुद्धा र काण्ड उछालेका हुन् भनिएको छ। अमित शाहको अपराधिक पृष्ठभूमि हेर्ने हो भने, उनी गृहराज्यमन्त्री रहेकै बेला बलात्कार र हत्याको आरोपमा उनी जेल चलान भएका थिए, पछि केन्द्रमा मोदी सरकार आएपछि मात्रै सर्वोच्च अदालतबाट उनले सफाइ पाएका थिए। ठीक त्यसरी नै शोहराबुद्धिन केस हेर्ने सर्वोच्च अदालतका एक न्यायधिशलाई गायब पारिएको थियो भने अर्का न्यायधिशले लाचारी व्यक्त गर्दै अमित शाह लगायत सबैलाई सफाइ दिलाइएको थियो। तथापि, यो विषय सहायक मात्रै हुनसक्छ, किनकि, अनुसन्धानको अभियोग लगाइएको जुन आइएनएक्स मिडिया काण्ड छ, त्यसमा ३०५ करोड विदेशी मुद्रा प्रवाहको लागि कानुनी अड्चनलाई सहज बनाउनलाई तत्कालीन अर्थमन्त्री रहेका चितम्बरमको छोरा कार्ति चितम्बरम् मार्फत् १० लाख दिएको कुरा आइएनएक्सका मालिक इन्द्राणी मुखर्जीले बताएको कुरालाई आधार बनाइएको छ। जबकि, हाल इन्द्राणी र उनको पति पिटर मुखर्जी आफ्नै छोरी बीना शोरा हत्याको मुद्दामा जेलमा छन्। यसै अनुमान लगाउन सकिन्छ कि, शक्तिशाली गृहमन्त्रीको दबाबमा जेलमा रहेका अभियुक्तलाई के कस्तो विषय बकाउन सकिन्छ।
विषय अर्को पनि छ, हाल नेतृत्वहीन र आवाजविहीन रहेको विपक्षी कँग्रेस पार्टीभित्र मोदी सरकारको हालको नाकाम र अतिवादी नीति विरुद्ध पी चितम्बरम पहिलो लहरको आलोचना गर्ने नेता हुन्। तसर्थ, चितम्बरम यसै मोदी सरकारको खतराको घण्टी हुनु कुनै नौलो कुरा रहेन।
तथापि, सबै विषय, घटना, परिवेश आदिको आधारमा जसरी पी चितम्बरम काण्ड मच्चाएर जस्तो होहल्ला मच्चाइएको छ, यो मूलतः विगतका घटना, भ्रष्टाचार आदि भन्दा पनि मोदी सरकारको नालायकी ढाकछोप उद्देश्य केन्द्रित रचिएको पछिल्लो मञ्चन हो भन्ने कुरा बुझ्न धेरै कसरत गरिरहनु पर्दैन।
चितम्बरम सन् २००४–२००८ सम्मको आफ्नो अर्थमन्त्री कालमा आर्थिक वृद्धि र राज्यकोषको घाटा कम गराउने उत्तम अर्थमन्त्रीको रुपमा कार्य सम्पादन गरिसकेका पात्र मानिन्छन्। र, हाल विश्व अर्थबजारसँग सम्वाद गर्ने र भारतीय अर्थतन्त्रलाई जोगाएर दिशा दिने अधिकांश अर्थशास्त्री, विज्ञ, प्रशासकहरुलाई लखेटेर मोदी सरकारले राज्यको ढुकुटी दोहन गर्नको लागि सहज कारिन्दाहरु भर्ती गरेर जसरी ७० वर्ष यता कै खराब अवस्थामा भारतीय अर्थतन्त्रलाई पुर्यासएको छ, यसको तीखो आलोचना पूर्व अर्थमन्त्रीको हैसियतले चितम्बरमले गर्नु सामान्य कुरा थियो। तथापि मोदी सरकारको अतिवादी चिन्तन र नीति यस्तो हुनु स्वभाविक छ कि, ३०५ करोडको कारोबारमा अर्थमन्त्रीको हैसियतले तेस्रो व्यक्ति मार्फत १० लाख घुस लिएको आरोपमा यसरी अपराधी करार गरिएको छ, जसको आधार जेलमा रहेको अभियुक्तको कबुलियतनामालाई बनाइएको छ।
तसर्थ, मोदी सरकार आफ्नो कमजोरी, नालायकी र असफलताहरु ढाकछोप गर्न यस्ता काण्डहरु अरुपनि घटाउँदै जानेछन् जसले भारतीय अर्थतन्त्रमात्रै ध्वस्त बनाउने छैन, क्षेत्रीय तथा आर्थिक सन्तुलनमा समेत असरहरु पैदा गर्नेछ। यसरी इतिहासमा हरेक नाकाम शासकले विभिन्न नाटकहरु मञ्चन गरिहन्छन् जसले समाज, राज्य र व्यवस्थाको सही उपचार र समाधान गर्ने भन्दापनि सामाजिक दुश्चक्रको पूर्नउत्पादनमा कृत्यनामा घटाइरहन्छन्।