Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नाटकको चौथो चरण

पारिजात पारिजात
बैशाख १०, २०७९
- यो हप्ता, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बाह्रबीसेको बसस्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फक्र्यो । अनि, आफ्नो जहानलाई खान कर लगाउँदै भन्यो, ‘खा खा अलिक बेथालाई त खाएकैले जित्छ । भरै अस्पताल पुग्नेसाथै तोक लाग्यो भने भर्ना हुन पाइहाल्छेस् खाने चाँजो मिल्ने हो होइन, खा खा ।’

    पहेँली, ख्याउटी, फुकीढल भएकी स्वास्नीमान्छे, जो दोहोरो सास फेरिरहेकी थिई, सुस्केरा जस्तो आवाजमा आफ्नो लोग्नेलाई भनी, ‘टुंगोमा पुग्छु जस्तो लागेको छैन मलाई, खै रगत त्यत्तिकै आइरहेको छ ।’

    त्यसपछि उसले खोकी, आफूसँगै बोकेको झुत्रो भइसकेको सिंगो फरियामा थुक पोको पार्दै भनी, ‘बोकेर आइयो भन्ने नाउँ मात्रै, असाध्यै दुख्दो रहेछ । अहिले त झन् धेरै रगत मात्रै आइरहेको छ ।’

    नैनले देख्यो, उसकी स्वास्नीको आँखा बिस्तारै धमिलो हुँदै जाँदैछ तर उसले यस वास्तविकतालाई महत्व दिएन । उसले के मात्र सोच्यो भने हिजोसम्म यो आइमाई कान्लामा घाँस काट्दै थिई, त्यसैले अहिले नै यो मरिहाल्न सक्दिन । मान्छेको जीवन हिजोको आजै तलमाथि परिहाल्ने खालको हुँदैन, अस्पतालसम्म पुग्न पाउनुपर्छ सब ठीक हुन्छ । अन्तमा उसले आफैंलाई सम्झायो, हामी गरीबको कोही नहोस् रे, सरकार त छ नि !

    यता छहारीमा बसेर पहेँलो सुकेको औंलाहरुले मन नगरी–नगरी दही च्यूरा मुछ्न लागेकी थिई किस्नेकी आमा, अँ नैनले उसलाई जेठो छोराको नांउँबाट किस्नेकी आमा नै भन्ने गरेको छ । किस्नेकी आमा एक गाँस दही च्यूरा कलेटी परेको ओठबाट भित्र हाल्यो तर चपाउने सुर उसको थिएन । जसरी तसरी तीन चार गाँस पेटभित्र हाली, एक बोहोता आलु पनि, अनि पानी पिई । उता नैनले खाना खाइसकेपछि देउराली चुरोटको धितमार्दो कस तान्यो, किस्नेकी आमा, तलतलले हुरुक्कै भई तर सहिदिई, कारण बाँच्ने नाउँमा हिजो मा नैनकै अघि चुरोट कहिले नखाने किरिया हालिसकेकी छ उसले ।

    दृश्यहरु परिवर्तन भए । काठमाडौं आउने बस लागिसकेको थियो । नैनले आफ्नो जहानलाई सहारा दिएर बसको ढोकासम्म ल्यायो । बस उक्लन गाह्रो परेको थियो । तापनि, उक्ल्यो र जहानलाई एक ठाउँमा थन्क्याइदियो । बस गुड्न थाल्यो, बसले काठमाडौं पुग्नै पथ्र्यो, पुग्यो । बस अड्डाबाट वीर अस्पतालसम्म दश रुपियाँ भाडा तिर्यो नैनले, कारण रिक्सावालको तर्कं थियो– बिरामी सवारी कसैले पनि बोक्दैन, दश रुपियाँ चाहिन्छ । बसको थकाइ, रिक्साको थकाइ अनि यात्राभरि फोक्सोबाट निस्केको रगतको फाल्साले किस्नेकी आमालाई हुनसम्म शिथिल तुल्याइसकेको थियो । ऊ हिँड्न सकिन, नैनले उसलाई बोकेर इमरजेन्सीतिर दौडायो र बाहिर चौतारीमा बिसायो ।

    त्यसपछि देशको प्रतिष्ठित अस्पतालमा सरकारको विश्वास पर्दैै स्वास्नीलाई बचाउन आएको नैनले जीवनको सबैभन्दा मार्मिक नाटक खेल्यो आफैं नायक भएर । यस मार्मिक नाटकलाई यहाँ कथाको रुप दिन मिल्दैन यसरी अचानक नाटकमा भाग लिनु नैनको विश्वासमा पटक्कै नपरेको कुरा थियो तर सामना गर्नपर्ने भएपछि सामना गर्नैपर्छ । नैनलाई त्यो भाग लिनु सपना अथवा तन्द्रा जस्तो पनि लागेको थियो । घटना र सम्वादलाई यसरी वर्णन गर्न सकिन्छ । नैनले केही सुझाउ, केही आदेश, केही प्रश्न र केही हप्कीदप्की निकै कडकदार भाषामा सुन्दै गयो । एउटा कोठाबाट घोक्रे ठ्याक पनि खायो ।

    ‘यहाँ होइन, यहाँ होइन उता लग…’
    ‘यता कता ल्याएको उता…उता’
    ‘जाँच्ने ठाउँ यहाँ होइन, त्यहाँ’
    ‘ए ! आफ्नो बिरामीलाई मात्र यतिका लामो ठाउँमा सुताएर… खै उठाएर राख हाम्रो बिरामी पनि बस्नपर्छ ।’
    यसरी यता र उताको एउटा लामो सिलसिलापछि नैन नाटकको यस्तो बिन्दुमा आइपुग्यो, जहाँ प्रश्नहरु केही महत्वपूर्ण थिए । यतिखेरसम्म नैनको स्वभाविकताको चौथाई भाग मरिसकेको थियो ।

    ‘के रोग हो ?’
    ‘मुखबाट रगत आउँछ….हजुर, हजुर कफमा’
    ‘त्यो यहाँ जाँच्दैन…पर’
    ‘कहाँ पर ?’
    ‘टेकु अस्पतालमा’
    ‘टेकु अस्पताल कहाँ छ ?’
    ‘त्यहीँ पर, टेकुमा’

    नैन भन्ने नैनबहादुरले आफूलाई अन्यौलको भूमरीमा फँस्दै गएको अनुभव गर्यो । उसलाई एउटा यस्तो वातावरणले कस्दै लगेको अनुभव भयो, जुन वातावरण उसको देशमा हुन्छ भन्ने कुरा उसको निर्बोध मनले कल्पनासम्म पनि गरेको थिएन । तर स्वास्नीको प्राण आफ्नो गरीब खल्तीमा सुरक्षित राखेको भ्रममा परेको नैनले नाटक नगरी सुखै थिएन । अस्पतालको प्राङ्गणमा फनफनी घुम्दा पनि उसले अस्पताल र डाक्टर भेट्नै सकेन तथापि उसको सरकारप्रतिको विश्वास खल्बलिएको थिएन । ऊ सोच्दै थियो, यो त अस्पताल न हो सरकार त अझै छ नी, मानौं उसको निम्ति सरकार यी सारा क्रियाकलाप र झञ्झटहरुभन्दा बेग्लै, अलग्गै वस्तु हो, जो विस्मयकारीरुपले उसको अघि प्रकट हुनसक्छ । यसरी ऊ नाटकको तेस्रो चरणमा पुग्यो । यसपटक भने सम्वाद उसलाई अलिक तथ्यपूर्ण लाग्यो ।

    ‘मुखबाट रगत आको आकै छ ?’
    ‘हजुर, हजुर’
    ‘छातीको फोटो खिच्नपर्छ’
    ‘त्यो कहाँ खिच्छ ?’
    ‘कालीमाटी चेष्ट क्लिनिकमा’
    ‘त्यो कहाँ छ ?’
    ‘यसो जाऊ अलिक उता पर्छ’

    केहीबेर चेष्ट क्लिनिकको खोजीमा भौतारिएपछि नैन रित्तो हात असीन–पसीन थकित शरीर, थकित मानसिकता लिएर किस्नेको आमा भए ठाउँमा फक्र्यो र उसको खुट्टानिर यसो ठाउँ बनाएर बस्यो ।

    ‘किस्नेकी आमा ! डाक्टर अस्पताल केही पनि भेटिएन ।’
    किस्नेकी आमा निरुत्तर । नैनले अझ घच्घचाएरै बोलायो, ‘ए तँलाई कस्तो छ ?’

    तर किस्नेकी आमा नियतिको अस्पतालमा नै पुगिसकेकी थिई । ओइलिएको सागको मुठा जस्तो, चिसो भएको, एकातिर लत्रक्क परी ऊ । नैनलाई वास्तविकताले एकैछिनमा नै परिपक्व बनाइदिएको थियो । त्यसैले अब ऊ भ्रमभन्दा बाहिर थियो । एकपल्ट उसलाई चिच्याएर रुन मन लागेको थियो तर नियन्त्रण गर्यो, कारण उसले थाहा पायो यहाँ यसरी रुनुको अर्थ हुँदैन । हिजो यो स्वास्नीमान्छे मर्ली जस्तो थिइन, तर आज मरी, नैनलाई विश्वास भयो, केही बेरको यता होइन, उता…।

    यहाँ कहाँ राखी छाड्ने, ए छोला छोलाको कोलाहल पछि नैनले सागको मुठा जस्तो हलुको उसको स्वास्नीलाई बोकेर बाहिर सडकमा नै आयो, त्यसपछि पेटीको एकातिर लास बिसाएर ऊ रिक्सा बोलाउन हिँड्यो ।

    अब नाटकको चौथो चरण शुरु हुन्छ, जसलाई नैनबहादुरले पूरा नगरिकन सुखै थिएन ।
    ‘मरेको मान्छे पनि कसैले बीस रुपियाँमा लान्छा ? लान्दैना म ता, त्यही पनि बस अड्डासम्म पचास दिन्छा ?’
    ‘त्यति त पैसै छैन, घर पनि त पुग्नपर्ला ।’
    ‘ट्याक्सी बस पार्कसम्म जाँदैन उही पनि लास बोकेर ?’
    निःसहाय भएर नैन फर्केर आयो, उसलाई सबै मान्छे मरेको जस्तो लाग्यो । ज्यूँदो त उसकी स्वास्नी मात्र छे र अब उसैलाई गएर भन्नु नै छ कि तेरो ज्यानलाई बाह्रबीसेको बससम्म लैजान कुनै पनि रिक्सा, ट्याक्सीले मानेनन् सक्छेस भने आफैं उठेर हिँड्, यहाँ सबै मान्छे मरेका छन् । तैं एउटी मात्र ज्यूँदी छेस् ।
    ऊ फर्कँदा किस्नेकी आमाको लासलाई एउटा सानो भीडले घेरिसकेको रहेछ । एउटा पुलिस पनि कड्कीरहेको थियो ।
    ‘कसको मान्छे हो यो ?’
    ‘यहाँ किन सुताइराखेको ?’
    ‘मरेको जस्तो छ ।’
    ‘ए…यसको मान्छे कहाँ छ, ल यसलाई चाँडै उठाइहाल ।’

    अब नैन भन्ने नैनबहादुरले आफूलाई जीवनमा सबैभन्दा बढी विवश भएको पायो । उसलाई लाग्यो, ऊ एकदमै एक्लो छ त्यसैले हुलबाट बिस्तारै बाहिर निस्क्यो । जीवनमा पहिलोपल्ट नैनले उसको स्वास्नीलाई चिनेन, उसको तीनवटा लालाबालाको आमालाई, उसकी अर्धाङ्गिनीलाई उसकी जीवन साथीलाई । तर, आज उसले बडो महत्वपूर्ण वस्तुलाई चिन्यो, उसले आज सरकार चिन्यो । नजिकैबाट असाध्य मज्जासँगले चिन्यो । कसैले चिनाउनै परेन, आफैं चिन्यो । गरीबको सरकार भेट्यो उसले आज, सरकार उसको हातैमा आयो । उसले चेपारे हाँसो हाँस्दै जाने उसको गाउँको सतासीलाई र जिल्लाको माननीयलाई चिन्यो ।

    भीडबाट पलायन भएको नैन साँझै भएर बाह्रबीसे जाने बसमा चढ्यो र आत्मस्वीकृति यसरी पोख्दै गयो, किस्नेकी आमा, मान्छेको आत्मा हुन्छ भन्ने सुनेको थिएँ, तैंले मेरो दुःख देखी हालिस् तेरो ज्यानलाई सद्धे बनाएर ल्याउन कम्मर कसेर गएको मैले तेरो लास पनि ल्याउन सकिनँ तर मैले सरकार, मान्छे सबै सबै चिनेँ, के म सितिमिति बिर्सनसक्छु र आज मुटुमा किला गाडेको दिन ?

    (फिनिक्स बुक्सद्वारा प्रकाशित पारिजातको ‘मैले नजन्माएको छोरो’ कथासंग्रहबाट साभार)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पारिजात

      पारिजात

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.