प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्वकाे सिकार संसदलाई बनाएको जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेकाे जारी बजेट अधिवेशन स्थगित गर्ने निर्णयप्रति कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले आपत्ति जनाए। नेता महतले नेकपाभित्र सत्तासंघर्ष चुलिएको परिणामले संसद अकस्मात रोकिएको बताए। आइतबार बस्ने केन्द्रीय समितिको बैठकले सरकारको निर्णयबारे धारणा सार्वजनिक गर्ने उनले बताए।
सत्तारुढ दलको आन्तरिक द्वन्द्वले संसद स्थगित गरिएको जानकारी पाएको कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा मिनेन्द्र रिजालले बताए। संसदलाई ‘विजनेस’ नभएको बारे उनले भने, ‘संसदलाई विजनेस भए/नभएको सरकारलाई नै थाहा हुने हो।’
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएका दुई विधेयक सदनमा छलफल हुने क्रममा थिए। नागरिकता र निजामती विधेयक समितिबाट बहुमतबाट पारित भएपनि दुवै विवादित छन्। नागरिकता विधेयकमा कांग्रेस र मधेशवादी दलले असहमति राखेका छन्। निजामती विधेयकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्यदेश त्रिपाठी, प्रतिपक्ष दलहरु, पूर्वएमाले समूहका समिति सदस्यले आपत्ति जनाएका छन्।