नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद र पछिल्लो समय देखापरेका समस्याले प्रवासी नेपालीहरु चिन्तित बनेका छन् । नेकपाको प्रवास कमिटीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र जारी गर्दै पार्टी विभाजन कुनै पनि हालतमा स्वीकार्य नभएको जनाएको छ।
कमिटीले पार्टीको सर्बोच्च तहबाट शुरु भएर सर्बत्र देखा परिरहेको व्यापक गुटबन्दी र आम अराजकताले जनताको बिश्वासमा धोकाधडी हुने त होइन भन्ने गंभीर प्रश्न खडा भएको बताएको छ । ध्यानाकर्षण पत्रमा संबिधान सभाबाट नयां संबिधान जारी भएर दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता भएपश्चात समाजको तल्लो तप्कामा आफ्नो आकांक्षा सम्बोधन हुने आत्मबिश्वास बढेको र त्यसैको प्रतिफलका रुपमा पहिलो निर्वाचनमै पार्टीलाई व्यापक जनसमर्थन प्राप्त भएकाे उल्लेख छ ।
बलियो सरकारबाट व्यापक सुधार र प्रगतिशील रुपान्तरणको तीब्र अपेक्षा पुरा गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । नेतृत्व तहलाई पार्टीभित्र देखा परिरहेका समस्याहरुलाई कमिटीभित्र व्यापक बहसबाट हल गर्न, सार्बजनिक रुपमा एकअर्काबिरुद्ध आरोप प्रत्यारोप नगर्न, पार्टी र सरकारबीच समन्वयात्मक सहयोगको बाटोबाट अगाडी बढ्न तथा देखा परिरहेका कमीकमजोरीहरु सुधारेर अघि बढ्न प्रवास कमिटीले जोडदार माग गरेको छ ।
ध्यानाकर्षण पत्रमा कमिटीले एकताबद्ध र अनुशासित पार्टी निर्माण गर्न नेतृत्वपंक्तिलाई सचेत गराउंदै पार्टीको विधी र कार्यक्रमलाई पालना गरी देश र जनताको हितमा निरन्तर लागिरहने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेकाे छ ।