देशभर प्रतिगमनको विरुद्धमा आन्दोलन जारी छ र मंगलबार पनि विभिन्न मंचहरूबाट दर्जनौं नेताहरूले ओलीको संविधानविरोधी कमदविरुद्ध अभिव्यक्तिहरू दिएका छन्। नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अभिव्यक्तिको यतिखेर चर्चा भइरहेको छ :
भित्तामा पु-याउन पनि सक्छु : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कठोर भएर लागे प्रधानमन्त्री केपी शर्मा ओली सिद्धिने चेतावनी दिएका छन् । राजधानीमा मंगलबार प्रेस संगठन नेपालको दहाल–नेपाल निकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘ओलीजी मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ। म कठोर हुनुप-यो भने तपाईंलाई भित्तामा पु-याउन पनि सक्छु।’
यस्तै मंगलबार एक टेलिभिजन कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले संसद पुनस्थापना भयो भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न कुनै अप्ठ्यारो नहुने बताएका छन् । लोकतन्त्र र संविधानको रक्षाका लागि जतिसुकै लचिलो हुन पनि तयार रहेको भन्दै उनले ओलीको कदमविरुद्ध कांग्रेससँग समझदारी हुने बताएका छन् ।
कि पद छोड कि सरकार कामचलाउ भएको स्वीकार गरः माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको स्वीकार गर्नुपर्ने बताएका छन् । मंगलबार आफूनिकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद विघटन भइसकेको अवस्थामा ओलीले पद छोड्ने वा कामचलाउ भएको स्वीकार गर्नुको विकल्प नरहेको बताएका हुन् । यद्यपि, ओलीले पद नछाड्ने उनको जिकिर छ । ‘तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’, नेपालले थपे ।