संसद विघटनको सरकारी निर्णयविरुद्ध देशभरी विरोधका कार्यक्रम तथा आन्दोलन जारी छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, नागरिक अगुवा लगायत विभिन्न समूहले सडकमार्फत प्रधानमन्त्रीको यस कदमको विरोध गरिरहेका छन् ।
ओलीले जनताको मुटुमा छुरा प्रहार गरेः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुको इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको अपमान गरेको बताएका छन् । आइतबार काठमाडौँमा नेपाल किसान महासंघको कन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गरेर ओलीले जनताको मुटुमा छुरा प्रहार गरेको बताए । उनले ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि फेरि एकपटक जुरमुराउनु पर्ने र आन्दोलित हुनुपर्ने बताए ।
ओलीका २० सांसदले हामीलाई साथ दिनेछन्ः नेपाल
महासंघकै बैठकलाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनस्र्थापना भए ओली पक्षमा लागेका २० सांसदले आफूहरुलाई साथ दिने बताएका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्तालाई आफूतिर तान्ने कोसिस गरेको बताए । यद्धपी थुप्रै नेता कार्यकर्ताले ओली पक्षले देखाएको प्रस्ताव अस्वीकार गरेको अध्यक्ष नेपालको भनाई छ ।
बहुमतलाई किन आधिकारिक नमान्ने ? : नेता रावल
नेकपा नेता भीम रावलले बढी मत पाउनेलाई विजयी घोषणा गर्न निर्वाचन आयोग प्रष्ट हुनुपर्ने बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले नेकपाको दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य आफ्नो साथमा भएको उल्लेख गर्दै आयोगलाई प्रश्न गरे ‘त्यो बहुमतलाई किन आधिकारिक नमान्ने?’ निर्वाचन आयोगले केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको रावलले बताए ।
ओली ज्ञानेन्द्र जसरी बिदा हुन्छन्ः रिजाल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीको तत्कालीन राजा ज्ञानेन्द्र जसरी बिदाई हुने दिन आउने बताएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान विपरीतको काम गरेको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रसँग तुलना गर्दै त्यसरी नै सत्ताबाट बिदाई हुने बताए । रिपोटर्स क्लब नेपाल लुम्बिनीले आइतबार बुटवलमा गरेको कार्यक्रममा नेता रिजालले केपी ओलीले सत्ता टिकाउनकै लागि निर्वाचनको घोषणा गरेको त्यो सफल नहुने दाबी गरे ।