अब सिंगै राष्ट्र झल्कने गरी हामीले प्रदर्शन गर्नु आवश्यक छ । यसका लागि हामीले घरघरबाट बल गर्नुपर्यो। हामीले माथिबाट सकेको प्रयत्न गर्छौं। फेरि हामीले एकपट निर्णायक आन्दोलन बनाएर प्रतिगामीविरुद्ध देखाइदिउँ। प्रदेश नम्बर २ का जनतासँग म आग्रह गर्दछु, प्रतिगमनविरुद्ध जनताले प्रतिकार गर्नुपर्छ । संसद भंग गर्ने, संविधान भत्काउन चाहने, तानाशाहीविरुद्ध हामीले लड्नुपर्छ ।
उसो त अहिलेका कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि हाम्रो सभा देखेर डराएर ‘देखाउँछौं’ भनेका छन् । साँचो -याली कस्तो हुन्छ हामी देखाइदिन्छौं भनेका छन् । केपीले जत्रो र्याली गरेपनि त्यो पंच र्याली भन्दा ठूलो हुनेछैन । पंचायतको -यालीमा प्रहरीलाई पनि आउनै पर्ने, सेनालाई पनि र कर्मचारीलाई आउनै पर्ने उर्दी जारी गरिन्थ्यो । केपीले गर्ने र्याली पञ्चर्यालीभन्दा ठूलो हुनेछैन। ठूलो भए के हुन्छ र ? प्रतिक्रान्ति भएपछि ठूलो भए पनि के, सानो भए पनि के ? आफू ढल्ने अवस्था भएपछि -याली आयोजना गर्थे उनीहरू । हामी नै जनताको र समावेशीको पक्षमा भएकाले हाम्रा र्याली जनताको प्रदर्शन हो । प्रतिक्रान्तिका विरुद्ध प्रदर्शन हो ।
हिजो हामीले सही लाइन लिएकै कारण हाम्रो पार्टी यति विशाल पार्टी हुन सफल भएको हो । हिजो रायकमाझीको लाइन के भयो? उनी त कलंकित भए । केपी पनि कम्युनिष्ट आन्दोलनका कलंकका रूपमा स्थापित भए अब । इतिहासमा नाम त असल पात्रको पनि आउँछ, गलत पात्रको नाम पनि आउँछ । हिटलरको पनि नाम छ इतिहासमा, लेनिनको पनि छ। तर कसको सुनाम र कसको कुनाम छ भन्ने बुझ्नु आवश्यक छ । यिनको दुर्नाम र बदनाम भएको छ । त्यसकारण खड्गप्रसाद ओलीले गरेको प्रतिगमनलाई परास्त गर्न म आह्वान गर्छु । हाम्रो कम्युनिष्ट पार्टीको ऐतिहासिक विरासतलाई स्थापित गर्नुस्।
नेकपाले तेस्रो चरणको आन्दोलनको तयारीको सन्दर्भमा आयोजित कार्यक्रममा प्रचण्डले दिएको मन्तव्य ।