प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध बिहीबारपनि विभिन्न सभा सम्मेलनसहित विरोधका कार्यक्रमहरू भए । रुपन्देहीको बुटवलमा बिहीबार विशाल जनसभाको आयोजना भयो । त्यस कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका नेताहरूले संसद विघटविरुद्ध अभिव्यक्ति दिएका छन् भने अन्य ठाउँमा विभिन्न कार्यक्रहरू भए ।
ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तै : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशता केही महिनामै ध्वस्त हुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले बिहीबार बुटवलमा गरेको विरोधसभामा अध्यक्ष प्रचण्डले ओलीलाई आफँैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्टजस्तो देखिएको बताए । प्रचण्डले अदालतमाथि विश्वास भएको उल्लेख गर्दै सबैभन्दा ठूलो अदालत भने जनता भएको बताए ।
ओलीको भविष्यवाणी असफल हुन्छ : माधकुमार नेपाल
बिहीवार बुटवलमै भएको सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले वैशाखमा चुनाव हुने प्रधानमन्त्री ओलीको भविष्यवाणी असफल हुने बताएका छन् । ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको भन्दै नेपालले ओलीले सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाए ।
ओलीको कदमविरुद्ध मोर्चा बनाउनुपर्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका छन् । बिहीबार अवधी पत्रकार संघ, बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ओलीलाई घोक्रोठ्याक लगाउन सबै दल मिलेर मोर्चाबन्दी गर्नुपर्ने बताएका हुन् । उनले अदालतकै सेटिङमा प्रतिगमनकारी कदम चालिएको आशंका गरे ।
ओलीले जबजको मुद्दा कुल्चिएः योगेश भट्टराई
नेकपा प्रचण्ड–माधव समूहका नेता योगेशकुमार भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मुद्दालाई प्रधानमन्त्री ओलीले नै कुल्चिएको आरोप लगाएका छन् । इलाम सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा नेता भट्टराईले कानून मान्दा र लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको भन्दै उनले ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे ।