प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रवासी मञ्च बेलायतले स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन माग गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।
प्रवासी मञ्च बेलायतले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको विरुद्धमा चरणबद्ध विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । प्रतिगामी कदमको विरोधमा आ–आफ्नो ठाउँबाट उत्रने सबैलाई प्रवासी मञ्च बेलायतले धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै बेल्जियमका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले पनि सोही कुरा दोहोर्याउदै सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् ।
व्यक्तव्यको पूर्ण अंश
२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ ।प्रवासी नेपाली एकता मञ्च बेलायतले प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक छ भनि विरोध गर्दै आएको थियो ।
आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै हार्दिक स्वागत गर्दछौं । यस्तो असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तत्काल आफ्नो पदबाट राजीनामा दिन समेत माग गर्दछौं ।
प्रधानमंत्रीको उक्त कदम प्रतिगमनकारी हो भन्दै त्यसलाई सच्याउन दबाब दिन हामीले चलाएको अभियानमा सघाउनु हुने देशभित्र र बाहिरका सबै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
यसैबीच प्रवासी नेपाली एकता मञ्च स्विट्जरल्याण्डले पनि प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गरेको छ । मञ्चका अध्यक्ष अच्युत प्रसाद फुयाँल र सचिव धर्म गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै ओली सरकारले गरेको प्रतिगमनको बिरुद्धमा आवाज उठाउने सबैलाई धन्यबाद तथा आभार प्रकट गरेको छ ।
विज्ञप्ती :
प्रवासी नेपाली एकता मञ्च स्विट्जरल्याण्डको बधाई तथा शुभकामना सन्देश
नेपाली जनताले ७० वर्षदेखि लडेर ल्याएको गणतन्त्र र जनताद्वारा लेखिएको संविधानलाई नै समाप्त पार्ने गरि प्रधानमन्त्री केपी ओलीद्वारा हताठ रुपमा गरिएको प्रतिनिधि सभा बिघटनलाई आज सर्बोच्च अदालतले बदर गरिदिएको छ । सर्बोच्च अदालतको उक्त निर्णयको प्रवासी नेपाली एकता मन्च स्विट्जरल्याण्ड हार्दिक स्वागत गर्दछ ।
प्रतिगमनबिरुद्ध, संविधान र बिधिको शासनको लागि आवाज बुलुन्द गर्ने सम्पूर्ण जनता, राजनीतिक पार्टी, लेखक, पत्रकार, बुद्धिजिबी, कलाकार, नागरिक समाजलगाएत सबैलाई हार्दिक धन्यबादसहित हार्दिक बधाइ दिन चाहन्छौं । यस्तो असंबैधानिक र प्रतिगमनकारी काम गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा सरकारबाट तुरुन्त राजीनामा दिन पनि हामी जोडदार माग गर्दछौं ।