प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार)अजरबैजान जाने भएका छन् ।अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
कुनै समय क्षेत्रीय संगठनको रूपमा शक्तिशाली रहेको सार्कको अध्यक्ष राष्ट्र रहेको नेपाल पछिल्लो समय निष्कृय रहेको सार्कलाई सकृय बनाउन नसकिरहेको सन्दर्भमा असंलग्न राष्ट्रहरूको सम्मेलनमा देशको कार्यकारी प्रमुखको सहभागितालाई चासो पूर्वक हेरिएको छ ।
ओली बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।प्रेस संयोजक अधिकारीका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि बाकु जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट सीधैं बाकु पुगिसकेका छन् ।
समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । नेपाल लगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन् । प्रधानमन्त्री ओली सम्मेलन सकाएर कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।