सन् २०१८ मा देश छाडी भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई “बन्धक” बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छन्।
बीबीसी पानोरामालाई उपलब्ध गराइएको भिडिओमा राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुनस् नजरबन्द गरिएको स्थान पुर्याइएको बताएकी छन्। गोप्य सन्देश आउने क्रम हाल रोकिएको छ र उनका साथीहरूले संयुक्त राष्ट्रसङ्घलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेका छन्।
दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए। सन् २०१८ मा लतिफासँग भेटेकी र उनलाई “चिन्तित युवती”का रूपमा व्याख्या गरेकी संयुक्त राष्ट्रसङ्घकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई नराम्रो तरिकाले झुक्काएको बताएकी छन्।
मानव अधिकार सम्बन्धी पूर्व राष्ट्र सङ्घिय उच्चआयुक्त तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबीन्सनले लतिफाको हालको अवस्था र उनी कहाँ छिन् भन्ने बारे थाहा दिइनुपर्ने आग्रहको समर्थन गरेकी छन्।
‘म लतिफा बारे अझै निकै चिन्तित छु। विषय वस्तु अघि बढेको छ। र त्यसै कारण यो विषय बारे अनुसन्धान गरिनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भनिन्।
लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुन। विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुख मध्ये एक उनी संयुक्त अरब एमिरेट्सका उप-राष्ट्रपति पनि हुन। लतिफालाई नियन्त्रणमा लिएर दुबई ल्याइएको करिब एक वर्षपछि उनलाई गोप्य रूपमा दिइएको मोबाइल फोनमा कैयौँ महिना लगाएर भिडिओहरू रेकर्ड गरिएको थियो।
उनले ती भिडिओ शौचालयमा रेकर्ड गरेकी थिइन् किनकि त्यहाँ मात्रै उनी ढोका बन्द गरेर बस्न सक्ने अवस्था थियो।
उक्त भिडियो सन्देशमा उनले यस्तो विवरण सुनाएकी छन् :
उनी सवार डुङ्गाबाट बाहिर निकाल्ने सिपाहीहरूसँग उनले प्रतिरोध गर्ने प्रयास गरेकी थिइन्। एकजना कमान्डोलाई पीडामा चिच्याउनुपर्ने अवस्था आउँदासम्म उनले उसको पाखुरामा टोकेकी थिइन। औषधि दिएर शान्त पारिएपछि उनले आफ्नो होस गुमाइन्। उनलाई निजी विमानबाट लगिँदै थियो र दुबई नपुग्दासम्म उनी होसमा आउन सकिनन्।
उनलाई चिकित्सकीय वा कानुनी सहायता लिन नसक्ने गरी एक्लै एउटा घर (भीला) मा राखिएको छ। झ्याल ढोका बन्द गरिएको उक्त घरको सुरक्षामा प्रहरी तैनाथ गरिएका छन्।
लतिफालाई पक्राउ गरिएको विषय बारेका विवरण उनकी मिल्ने साथी टीना यावहीआइनन, एक जना नातेदार मार्कस एस्ब्री र अभियन्ता डेभिड हेगले पानोरामालाई उपलब्ध गराएका हुन। उनीहरूले लतिफाको रिहाइको माग गर्दै अभियान चलाइरहेका छन्।लतिफा सुरक्षित छन् कि छैनन् भन्ने चिन्ताका कारण आफूहरूले उनको सन्देश सार्वजनिक गर्ने कठिन निर्णय लिएको उनीहरूले बताएका छन्।
उनीहरूले नै प्रहरी तैनाथ गरिएको घरमा रहेकी लतिफासँग सम्पर्क स्थापित गर्न सफल भएका थिए। पानोरामाले लतिफालाई कहाँ राखिएको छ भन्ने विषय बारे विवरणको स्वतन्त्र परीक्षण गरेको छ।-बीबीसी नेपाली/हेर्नुहोस् भिडियो :