जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ ज्ञान र अनुभव छ त्यहाँ परिवर्तन र नयाँ संसार बनाउने अभ्यास/प्रयास हुन्छ। त्यसपछि तपाईं त्यही बनिरहनुहुन्न जस्तो समाजले तपाईंसँग अपेक्षा गर्छ। तपाईं आफ्नो सोच काममा स्वतन्त्र हुन सक्नुहुन्छ। यसबाट तपाईंमा बिस्तारै बिस्तारै सोच्ने बुझ्ने क्षमता बढ्छ र तपाईंमा तर्कशीलताको विकास हुन्छ। साथसाथै तपाईंले सही र गलत छुट्याउने दृष्टिकोण पाउनुहुन्छ र तपाईंलाई कुनै पनि कुरा सहि छ वा गलत थाहा पाउन वा जान्न-मान्न तपाईंलाई कुनै धर्मगुरु, बाबा/माता, पादरी, मुल्लाको सर्टिफिकेटको आवश्यकता पर्दैन। सामाजिक परम्परा, चलिरहेका मूल्य मान्यताहरुलाई उचित वा अनुचितका आधारमा हेर्न थाल्नुहुन्छ र यसको केन्द्रमा मानवता रहेको हुन्छ।
जो परम्परा मानव, जीवजन्तु र पृथ्वीका लागि राम्रा छन, ति नैतिक हुन् र जो राम्रा छैनन् ति अनैतिक हुन्। तपाईंमा यो बुझाइ आउनका लागि केही समय लाग्न सक्छ तर जिज्ञासा वा प्रश्न छन् र मानविय दृष्टि छ भने अवश्य आउँछ।
अर्कोतर्फ तपाईंमा, तपाईंका काममा र तपाईंको जीवनका उद्येश्यहरुमा प्रगतिशीलता आउँछ। तपाईं आफ्नो दैनिक जीविकोपार्जन गर्ने रोजगारीमा मात्र सीमित रहनुहुन्न। बिस्तारै बिस्तारै समाजमा व्याप्त कुरीतिहरुलाई चुनौती दिन थाल्नुहुन्छ। भेदभाव, शोषण र असमानतामा प्रश्नहरु गर्न थाल्नुहुन्छ। तपाईंको कामले तपाईलाई जीविकोपार्जनका लागि वकिल बनाउन सक्छ, वा व्यवसायी, शिक्षक, किसान, डाक्टर, पत्रकार, मानवअधिकार कार्यकर्ता, राजनीतिज्ञ वा अन्य केहि पनि बनाउन सक्छ। तर तपाईको प्राथमिकतामा आम जनता केन्द्रित हुन्छन्।
आम जनताको लागि बाँच्न, उत्पीडनविरुद्ध लड्नका लागि केही त्याग गर्नुपर्ने हुन सक्छ । सायद तपाईंले आफ्नो विलासी जीवन त्याग्नु पर्ने हुनसक्छ। धन र पद पाउने आफ्नो व्यक्तिगत महत्वाकांक्षालाई तिलाञ्जली दिनुपर्ने हुनसक्छ। तैपनि, केहि राम्रो गरेको तपाई लाई सन्तुष्टि /खुशी हुन्छ।
आफू स्वयम् र संसारमा सकारात्मक परिवर्तनको वाहक भएको अनुभूति हुन्छ। त्यसपछि तपाईले महसुस गर्न सक्नुहुन्छ कि- कम्तिमा थोरै, तर तपाईंको प्रयासले संसारलाई राम्रो ठाउँ बनाएको छ वा सकारात्मक परिवर्तन गरेको छ।
तपाईंले आफ्नो जीवन आफ्नो लागि मात्र बिताउनु भएन कि अन्य दलन वा शोषणमा परेकाहरुका लागि, मानवता र पृथ्वीका अन्य प्राणीहरूको लागि पनि काम गर्नुभयो जीवन बिताउनुभयो। यसरी तपाईंमा आउने परिवर्तन नै सामाजिक परिवर्तनको वाहक बन्छ।
– नेपाल रिडर्सका लागि महेश पाण्डेयको अनुवाद।