काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले ‘राज्य विरुद्धको कसुरमा’ पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध मानमर्दन गरेको भन्दै प्रहरीले झाँक्रीलाई उनको निवास शंखमूलबाटै पक्राउ गरेको हो । यसअघि नेता झाँक्रीले पक्राउ पुर्जी बिना आफूले पक्राउ नदिने बताएकी थिइन् ।
पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।