काठमाडौँ — राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेपाल कम्युनिष्ट दाहालकी नेत्री रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । गोरखामा एक हप्ता आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपतिको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएका कारण सोधपुछका लागि बिहीबार बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।
‘झाँक्रीले कानुनविपरित गएर अभिव्यक्ति दिएका कारण उहाँलाई सोधपुछका लागि हामीले बोलाएका हौं’, थापाले भने । झाँक्रीलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको हो ।
बिहानै झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा पुगेपछि सोबारे आमसंचारका माध्यमबाट नेता कार्यकर्ताहरूले थाहा पाएपछि उनलाई पक्राउबाट रोक्न उनकै निवासमा पुगेका थिए । अहिले झाँक्री आफ्नै निवासमा छिन् । केही बेरअघि भारी शंख्यामा उनलाई पक्राउ गर्न पुगेका प्रहरी र नेकपाका नेता कार्यकर्ताहरूबीच घम्साघम्सी पनि भएको थियो । अहिले झाँक्री निवासअघि नाराबाजी चलिरहेको छ ।
झाँक्रीले आफूलाई पक्रनका लागि पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई भनेकी छन् । आफ्नो निवास शंखमुलमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘मैले पक्राउ पुर्जी पाएको छैन । पाएपछि म पक्राउ दिन्छु ।’
उनले भनिन्, ‘अहिले मलाई गर्न खोजिएको ह्यारेसमेन्ट होला । किनभने तानाशाहरु ढल्ने बेलामा अनेक जुक्ति लगाउँछन् ।’