नेकपा नेतृ रामकुमारी झाँक्रीले ‘राष्ट्रपति विद्यादेवी भण्डारी सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको’ आरोप लगाएकी छन् ।बुधवार नेकपाले काठमाडौंमा प्रतिगमनविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले राष्ट्रपतिजस्तो सम्माननीय संस्था आफूहरूको बलिदानीले प्राप्त भएको बताइन् ।
‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ,’ झाँक्रीले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’ झाँक्रीले निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत र हत्या हुँदा महिला अस्मिता हरण हुने बताइन्।
राष्ट्रपतिबारे झाँक्रीले यसअघि गरेको टिप्पणीप्रति संकेत गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यसमा महिला अस्मिताको प्रश्न आउँदैन ।’ झाँक्रीले नेकपाको महिला संगठन ‘अखिल नेपाल महिला संघ’लाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको आरोप पनि लगाइन् ।
ओली कागजी बादशाह भएको बताउँदै झाँक्रीले भनिन्, ‘ती ढलिसके। घोषणा हुनमात्र बाँकी छ।’ व्यक्ति ओली नभई ओली प्रवृत्तिको आफूहरूले विरोध गरेको बताउँदै उनले भनिन्, ‘म हाम्रो पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रह गर्दछु ।’