२३ पुस, काठमाडौं । आफूले चुनाव हार्दा पनि त्यसलाई स्विकार्न नसकेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उक्साहटमा बुधवार अमेरिकामा हिंसा भड्किएको छ। उनले चुनावी परिणाम उल्ट्याउन प्रयास गर्दैगर्दा ट्रम्पका समर्थकहरूले वासिङ्टनमा दंगा मच्चाएका कारण त्यहाँ कर्फ्यु लगाइएको छ। गोली लागेर एक महिलाको मृत्यु भएको छ।
वाशिङ्टनस्थित अमेरिकी संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको बेला हुलले त्यहाँ आक्रमण गरेको थियो । त्यहाँको बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक पुष्टि गर्ने कार्यक्रम थियो । सोही क्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर त्यहाँ प्रदर्शन थालेका थिए।
त्यसपछि प्रदर्शनकारीको हुल क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरेर र चुनावी परिणाम रद्दको माग गर्न थालेका थिए। यसै क्रममा प्रदर्शनकारीहरू तोडफोडमा उत्रिए र हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्न त्यहाँको नेशनल गार्डस् उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो। अस्पतालमा ती महिलाको मृत्यु भयो । मृतकको परिचय अझै खुलेको छैन। करिब ३ तीन घण्टासम्म चलेको तोडफोड र हिंसात्मक प्रदर्शन अहिले साम्य छ।
राष्ट्रपति बाइडेनले ट्रम्पसँग हिंसा अन्त्य गर्न र कानुनी व्यवस्थाको रक्षा गर्न आग्रह गरेका छन्। यो हिंसात्मक घटनाको विश्वभरबाट निन्दा भइरहेको छ । चुनावमा आफूले हारेपछि त्यो स्विकार्न नसकेर आफ्ना समर्थकलाई उक्साएर हिंसा मच्चाएको भन्दै दक्षिणपन्थी ट्रम्पको सर्वत्र आलोचना भइरहेको छ। आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने अमेरिकामा भएको यो घट्नाले फेरि एक पटक ‘तथाकथित अमेरिकी प्रजातन्त्रको पाखण्ड’को खोल उत्रेको भन्दै कतिपयले विश्लेषण गरेका छन्।