प्रतिगमनविरुद्ध देशभर विरोधका कार्यक्रम भइरहेका छन् । शनिबार भएका विभिन्न कार्यक्रमहरुमा आन्दोलनरत दलका नेताहरुले दिएका अभिव्यक्तिहरु सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन भए ।
चुनाव गरेर मात्र के हुन्छ ? : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्षी चाहिएको बताएका छन् । शनिबार विराटनगरमा भएको ददिराज सुवेदी पुरस्कार प्रतिष्ठानको कार्यक्रममा वरिष्ठ नेता पौडेलले पाँच वर्षका लागि चुनाव जिताएर पठाइएका प्रधानमन्त्रीले ३ वर्षमै संसद भंग गरेर जनताको दुहाई दिँदै हिँडेको बताए । उनले भने, ‘पूरा काम गर्न नपाउने हो भने चुनाव गरेर मात्र के हुन्छ ?’
त्यसमाथि अदालतलाई धम्क्याउने र सेटिङ छ भन्दै हिँडेको भन्दै उनले कस्तो चुनाव हुन्छ भनेर प्रश्न गरे । पार्टी सभापतिको नाम नलिई उनले प्रधानमन्त्रीले धम्की दिइरहँदा अदालतलाई केही भन्न हुन्न भन्नु जनतालाई धोधाकडी मात्र हुने बताए ।
चुनाव हुन्नः शेखर कोइराला
शनिबार कञ्चनपुरको महेन्द्रनगरमा भएको कार्यक्रममा कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म पार्टीले आन्दोलन जारी राख्ने बताएका छन् । प्रधानमन्त्रीले घोषणा गरेको समय वैशाखमा चुनाव नहुने दाबी गर्दै कोइरालाले प्रतिनिधि सभा पुनस्र्थापनाको अरू कुनै विकल्प नरहेको बताए ।
संसद विघटन नियोजित कदम होः सुरेन्द्र पाण्डे
नेकपाका दाहाल – नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र काम गर्न नदिइएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् । झापाको धुलाबारीमा शनिबार आयोजित नगर स्तरीय भेलामा ओलीको कदम कुनै बाध्यता नभएर नियोजित भएको बताए । ‘ओलीले बाध्यतामा यो कदम चालेका हैनन्, यो नियोजित कदम हो । ’ नेता पाण्डेले भने ‘ओली पहिलादेखि पार्टी भत्काउन र क्षत विक्षत गर्न चाहन्थे र संसद्लाई समाप्त गर्न चाहन्थे भन्ने कुरा पछिल्लो कदमले प्रमाणित हुन्छ ।’
कार्यक्रममा नेकपाका नेता राम कार्कीले ७० वर्ष लामो उपलब्धीमाथि प्रधानमन्त्री ओलीले धावा बोलेको बताए ।
ओलीलाई पुनः नेतृत्वमा ल्याउन असम्भवः युवराज ज्ञवाली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड– माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको खोल ओढेर राष्ट्रघाती र प्रतिगमनकारी काम गरेको बताएका छन् । प्रचण्ड–माधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका हुन् ।
Discussion about this post